चितवन । गाउँमै निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका रंगशाला निर्माणको विरोधी हुन त रु शनिबार हिरासतमा उनीहरुसँग गरिएको कुराकानीमा सबैको साझा भनाइ आयो, ‘रंगशाला वा धुर्मुस सुन्तलीप्रति हाम्रो कुनै आक्रोश, गुनासो, वदलाभाव छैन तर रंगशालाको पश्चिमतर्फको बाटोको निकास र भविष्यबारे चाहिँ स्पष्ट गरिनुपर्छ ।
रंगशाला भत्काएको आरोपमा पक्राउ परेका सुरेन्द्र विकले आफूहरु निर्माणको बिरोधी नभएको बताएका छन् । उनले बाटोको भविष्य के हुने भन्ने चिन्ता मात्र भएको उल्लेख गर्दै दुःखद घटनाप्रति हिरासतमा रहेका सबै चिन्तित रहेको बताए ।
रंगशालाका पूर्व, उत्तर र दक्षिण भागमा जस्तापाताको बार केही महिनाअघि नै लगाइएको थियो । पश्चिमतर्फको भाग भने खाली थियो । खाली क्षेत्रमा १४ जेठमा बार लगाइएयो । जेठ १५ गते बिहान बाटोको टुंगो नलगाइ बार लगाएको भन्दै आक्रोशित स्थानीयले डोजर लगाएर भत्काइदिए ।
‘पश्चिमतर्फ रहेको कच्ची बाटोको ४ सय मिटरअगाडि बढेपछि निकासा छैन । बाटो पनि साँघुरो छ । धुर्मुश सरले जग्गा कम भयो भनिरहनु भएको थियो,’ हिरासतमा रहेका कृष्ण कँडेलले भने, ‘भएको बाटो पनि मिचेर ठूला संरचना बन्ने र हामी चाहिँ झनै पछाडि पर्ने हो की भन्ने चिन्ताले उक्त घटना हुन पुग्यो ।’ उनले रंगशालाको काममा अवरोध गर्ने पक्षमा नभएको स्पष्ट पारे । मुद्दा प्रक्रिया टुंगो लागेपछि आफैं संलग्न भएर रंगशालाको कामअघि बढाउने उनीहरुले बताए । रंगशाला निर्माण विरोधी भनेर लागेको झुठो दाग पखाल्न भए पनि निर्माणमा जुट्ने विक बताउँछन् ।
रंगशाला भत्काएको भन्दै भरतपुर १६ का १८ जनालाई पक्राउ गरी प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । यस घटनाका मुख्य अरोपी प्रकाश कँडेललाई उनी आवद्ध पार्टी नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरिसकेको छ ।नयाँपत्रिकाबाट


