चितवन । जेठ १५ गते बिहान डोजर लगाएर भत्काइएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार शनिबार स्थानीयले उठाएका छन् । भरतपुरका जनप्रतिनिधि, स्थानीय, प्रहरी प्रशासन, राजनैतिक दल, उद्योगी व्यवसायी, विद्यार्थी, खेलाडीहरुको उपस्थितिमा बार उठाइएको हो ।
रंगशाला सबैको चाहना भएकाले एक दुई जना मान्छेको पछि लागेर नअल्मलिन स्थानीयले धुर्मुसलाई आग्रह गरे । रंगशाला निर्माण गर्न दवाव दिँदै स्थानीयले ¥यालीसमेत निकालेका थिए ।
बार उठाउने कार्यक्रममा पुगेका चितवन क्षेत्र २ का सांसद कृष्णभक्त पोखरेलले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम बिथोल्नु अपराध भएको बताए । ‘गौरवका योजना दैलोमा बन्न लाग्दा बिथोल्नु अपराध र विकास विरोधी कदम हो, ’ उनले भने् ।
भरतपुर महानगरकी मेयर रेनु दाहालले कुनै पनि हालतमा यस परियोजना छिटै सफल बनाएरै छाड्ने बताइन् । अन्तराष्ट्रिय स्तरमा चर्चा पाएको परियोजनालाई सानातिना घटनाले नबिथोल्ने भन्दै उनले ढुक्क भएर काम अघि बढाउन निर्माण पक्षलाई आग्रह गरिन् । ढालिएको बार उठाएर हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको मेयर दाहालले बताइन् ।
रंगशाला निर्माणकर्ता सिताराम कट्टेल धुर्मुसले भर्खरै गति लिन खोजेको यस परियोजनामाथि डोजर चलाएर कसैको भलो नहुने बताए । साथै उनले काम अघि बढाउन आवश्यक सुरक्षा प्रबन्ध र अन्य प्राविधिक पक्षको सहयोग चाहेको बताए ।नयाँपत्रिकाबाट


