काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको एक बर्ष पुगेको अवसरमा बाँकी रहेका एकीकरणका काम टुंग्याउने भएको छ । तत्कालिन एमाले र माओवादीबीच जेठ ३ गते पार्टी एकीकरण भएको एक बर्ष पुग्दैछ ।
सोहीअनुसार एकीकरणका बाँकी काम टुंग्याउनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेल गृहकार्यमा जुटेका छन् ।
स्रोतका अनुसार जेठ ३ अघि जनवर्गीय संगठन, पोलिटब्यूरो, केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभागका प्रमुख र उपप्रमुख टुंग्याउने गरी छलफल चलिरहेको छ । तीन नेताहरुबीच यि विषयमा मोटामोटी सहमति पनि जुटिसकेको छ ।
भियतनाम र कम्बोडिया भ्रमणमा जानुअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालसँग परामर्श गरी एकताको गृहकार्य गर्न महासचिव पौडेललाई जिम्मा दिएका थिए ।
सोहीअनुसार तीन नेताले छलफल थालेर एकीकरणको प्रस्ताव बनाइसकेका छन् । प्रधानमन्त्री ओली विदेश भ्रमणबाट फर्केसँगै सचिवालयको बैठक बसेर उक्त प्रस्तावलाई आवश्यक परे परिमार्जन गरी अनुमोदन गर्ने तयारी रहेको सचिवलायका एक नेताले बताए । प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किदैँछन् । प्रधानमन्त्री फर्केको अर्को दिन अर्थात जेठ २ मा सचिवालयको बैठक बस्ने भएको छ ।
पार्टी एकताको एक बर्ष पुगेको अवसरमा नेकपाले औपचारिक कार्यक्रम समेत गर्ने भएको छ । र सोही कार्यक्रममा एकीकरण सम्बन्धि पछिल्ला निर्णय सार्वजनिक गर्ने भएको छ ।
नेकपाका पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन । यसबाहेक विधान परिमार्जन र राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने बाँकी नै छ ।
यो बीचमा नेकपाले दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा पौडेल र श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठन, ७७ जिल्ला कमिटीको नेतृत्व चयनको काम सकिएको छ ।
स्रोतकाअनुसार तीन नेताबीचमा १४७ सदस्यीय पोलिटब्यूरो सदस्यको नामावलीमा सहमति जुटेको छ । पोलिटब्यूरोमा तत्कालिन एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य रहनेछन् ।
त्यस्तै मुख्य विवाद रहेको जनवर्गीय संगठनमध्ये युवा, महिला साथै पत्रकार तत्कालिन माओवादीले लिने र विद्यार्थी, मजदुर र बुद्धिजिवि संगठन तत्कालिन एमालेले लिने करिब–करिब सहमति जुटेको छ । त्यसबाहेक अन्य जनवर्गीय संगठनमा छलफल चलिरहेको छ । त्यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा केन्द्रीय विभाग पनि पर्ने भएकाले केही मुख्य विभागहरुका प्रमुख र उपप्रमुख पनि तोकिने भएका छन् । विभाग प्रमुख स्थायी कमिटी सदस्यबाट हुनेछन् ।
यि बाहेक प्रवास कमिटी, मञ्च, परिषद्, आयोग लगाएतका अन्य बाँकी काम ३ गतेपछि टुंग्याउने सहमति भएको छ । नेकपाले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक बर्षको अवसरमा तत्कालिन एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको छ ।रातोपाटीबाट साभार


