खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी वासस्थान निर्माणका लागि बाँस खरिदमा आर्थिक सहयोग गर्ने भएको छ । सङ्घसंस्था, व्यक्ति तथा सम्बन्धित निकायसँग समन्वयगरी विपद् प्रभावित क्षेत्रमा आवश्यक बाँस तथा काठ उपलब्ध गराएर वासस्थान निर्माण गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अस्थायी बसोवासको व्यवस्था मिलाउन बाँसका संरचना निर्माण गर्न नगरपालिकाको तर्फबाट रु. ६२ लाख नौँ हजार आर्थिक सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाका जनप्रतिनिधिबाट रु नौँ लाख ८९ हजार तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीबाट रु. ५२ लाख २० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले जनप्रतिनिधिहरूको एक महिनाको सेवासुविधा बापतको रकम उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ । कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीको मासिक सुरु तलब स्केलका आधारमा सहायकस्तर वा सो सरहका कर्मचारीबाट पाँच दिन, अधिकृतस्तर तथा राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट सात दिनको पारिश्रमिक कट्टा गरेर एकमुस्ट उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिकाले वडा नं. ३, ६, ७ र १२ तथा ज्येष्ठ नागरिक सङ्घबाट एक–एक गाडी बाँस उपलब्ध गराउने निर्णय गरेको छ । अन्य वडाबाट प्रतिवडा रु. १५ हजारका दरले बाँस खरिद तथा ढुवानीका लागि खर्च व्यवस्थापन गर्ने गरिएको नगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
खोटाङ बाँसको राजधानी भएकाले विपद् प्रभावित क्षेत्रमा बाँसका संरचना निर्माणमा सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । “विपद् प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बाँस प्रविधिसँग सम्बद्ध विज्ञ, अनुसन्धानकर्ता तथा सङ्घसंस्थासँगको संयुक्त पहलमा बाँसको वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिएको छ । यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौँलाई पत्राचारसमेत गरेका छौँ”, उहाँले भन्नुभयो, “बाँस स्थानीय रूपमा सहजै उपलब्ध हुने, नवीकरणीय, कम लागतमा संरचना तयार गर्न सकिने तथा उचित प्रशोधन र संरचनात्मक डिजाइन गर्दा दश वर्षसम्म टिक्छ । विपद् प्रभावित क्षेत्रमा साना सरकारी तथा सामुदायिक भवन, अस्थायी आवास, सेवा केन्द्र, प्रतीक्षालय, विद्यालय तथा स्वास्थ्य चौकीका अस्थायी संरचना निर्माणमा बाँसको प्रयोग गर्ने योजना बनाइएको हो ।”
स्थानीय स्रोत र श्रमको उपयोग गरी रोजगारी सिर्जना गर्ने, दिगो पुनर्निर्माणलाई प्रवद्र्धन गर्ने तथा वैज्ञानिक प्रशोधन र संरचनात्मक मापदण्डमार्फत बाँसलाई भरपर्दो तथा दिगो निर्माण सामग्रीका रूपमा स्थापित गर्ने नगरपालिकाको लक्ष्य छ । रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा तत्काल निर्माण गर्न आवश्यक रहेका तथा बाँसको प्रयोगबाट निर्माण गर्न उपयुक्त सरकारी, सार्वजनिक, सामुदायिक तथा आवासीय संरचनाको आवश्यकता र प्राथमिकताबारे जानकारी उपलब्ध गराउन नगरपालिकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको छ ।
नगरपालिकाले नगरवासीलाई पनि बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक आर्थिक सहयोग गर्न आग्रह गरेको छ । दश स्थानीय तह रहेको जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बाहेक अन्य स्थानीय तहले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्नेबारे अहिलेसम्म निर्णय गरेको छैन ।


