खोटाङ, १८ भदौ । जिल्ला समन्वय समिति खोटाङका जनप्रतिनिधि एवम् कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका नौँजना जनप्रतिनिधि र एघार जना कर्मचारीले आफ्नो सेवा सुविधाबापतको रकम कटाएर रु एक लाख ८४९ सहयोग गर्ने निर्णय गरेको हो ।
जनप्रतिनिधिको पाँच तथा कर्मचारीको राज्यले तोकेअनुसारको रकम सहयोग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । जनप्रतिनिधि तथा कर्मचारीबाट सङ्कलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।
यस्तै, खोटाङ यातायात प्रा.लि.ले भोटेकोशी बाढीपीडितका लागि रु ५५ हजार ५०० रकम सहयोग गरेको छ । खोटाङ यातायात प्रा.लि.ले उपलब्ध गराएको सहयोग रकमको चेक प्रा.लि.का महासचिव रामकुमार हिङमाङ र कोषाध्यक्ष गोविन्द कटुवालले प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी, माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलले रु ८१ हजार सहयोग गरेकोे छ । विद्यार्थीले आफ्ना खाजा खर्च जम्मा गरेर रु १७ हजार ६००, शिक्षकहरुको एक दिनको तलब काटेर रु ४० हजार ६५० र विद्यालय व्यावस्थापन समितिले रु २२ हजार ७५० जम्मा गरेर सहयोग गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष समुन्द्रप्रसाद जोशीले जानकारी दिनुभएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक–५ लफ्याङस्थित श्री मा.वि. बाँसबोटेका कक्षा–६ देखि १२ सम्मका विद्यार्थीले एक दिनको खाजाको खर्च जम्मा गरेर रु पाँच हजार ७७० सहयोग गरेको छ । विद्यार्थीले सङ्कलन गरेको रकम जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित शान्ति निकेतन मिनाकर्ण मा.वि सापातेलका कक्षा–४ देखि १० सम्मका विद्यार्थीले खाजा खर्च जम्मा गरेर रु चार हजार ८६० जम्मा गरेका छन् । विद्यार्थीलाई घरबाट खाजा खानका लागि अभिभावकले दिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको विद्यालयले जनाएको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले रु २८ हजार १०० उपलब्ध गराएको थियो । जिल्ला कार्यसमिति खोटाङको संयोजनमा २५ जना दाताबाट सङ्कलन गरिएको नगद रकम प्रमुख जिल्ला अधिकारी कँडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।


