निर्माण सामग्री ढुवानी गर्नेक्रममा मार्बलले किच्दा व्यवसायीकै छोराको मृत्यु

Halesi Khabar

खोटाङ, २० जेठ । निर्माण सामग्री ढुवानी गर्नेक्रममा मार्बलले किच्दा खोटाङका निर्माण व्यवसायी लालबहादुर विश्वकर्माको छोरा सुजन कोईरालाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियाले स्थायी घर भइ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा बस्दै आउनुभएका निर्माण व्यवसायी लालबहादुरको जेठा छोरा २२ वर्षीय सुजनको गएराति भोजपुरमा मृत्यु भएको हो ।

सिबिल ईन्जिनियरको अध्ययन पूरा गरेर बुबासँगै निर्माण व्यवसायको काम गर्दै आउनुभएका सुजनको दुर्घटनामा मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । मुकुन्द–ईन्दिरा निर्माण सेवा कम्पनीका सञ्चालक लालबहादुरले भोजपुरको षडानन्द नगरपालिका– १४ बोयास्थित स्वास्थ चौकी भवन निर्माणको जिम्मा लिनुभएको छ ।

निर्माणाधीन स्वास्थ्य चौकी भवनको लागि आवश्यक सामग्री ढुवानी गर्नेक्रममा भोजपुर नगरपालिका–१ हेलौछास्थित वडा कार्यालय नजिकै पर्ने भाम्राङ भन्ने ठाउँमा गएराति घटना भएको जनाइएको छ । सामग्री झार्नेक्रममा भएको दुर्घटनाको डेढ घण्टापछि उपचार गर्न जिल्ला अस्पताल भोजपुर पु¥याउँदा अस्पतालले छोरा सुजनलाई मृत घोषणा गरेको बुबा लालबहादुरले जानकारी दिनुभएको छ ।

तराईबाट मार्बल लिएर आएको एलपी ट्रक निर्माणस्थलसम्म नपुगेपछि झारेर ट्याक्टरमा हाल्नेक्रममा मार्बलले मृतक सुजनलाई किचेको प्रत्यक्षदर्शी बताएका छन् । निर्माणस्थलबाट चारवटा ट्याक्टर लिएर भाम्राङ पुग्नुभएका सुजनलाई मार्बलले किचेपछि सँगै गएका कामदारहरुले उद्धार गरेर अस्पताल पु¥याएका थिए ।

मृतक सुजन गत वैशाख–१४ गतेदेखि स्वास्थ चौकी भवन निर्माणको काममा खटिनुभएको थियो । निर्माण कम्पनीमा सुपरभाईजरको काम गर्दै आउनुभएका मृतक सुजनको कानूनी प्रक्रिया पुरागरी जिल्ला अस्पताल भोजपुरमा शव परीक्षण गराएर बुधबार साँझ मृत्यु संस्कार अनुसार अन्त्यष्टि गरिएको जनाइएको छ ।

नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङका जिल्ला सदस्यसमेत रहनुभएको निर्माण व्यवसायी लालबहादुरको परिवारमा परेको दुःखद घटनाले सङ्घमा आवद्ध सर्बै निर्माण व्यवसायीलाई मर्माहत बनाएको वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरेले बताउनुभएको छ । जिल्ला सदस्य लालबहादुरलाई परेको पुत्र बियोगका घटनामा कानूनी तथा व्यवहारिक रुपमा सहजीकरण गर्न भोलि (बिहीबार) सङ्घको बैठक बसेर निर्णय गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया