दिक्तेल रुपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

Minakshi Rai

खोटाङ, १९ जेठ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वातावरण संरक्षण, जैविक विविधताको संवद्र्धन, जलवायु परिवर्तनका चुनौतीहरुको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि नगरपालिकाले अभियान सञ्चाल गर्ने भएको हो ।

बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरुको अन्दाधुन्द दोहनले वातावरणीय सङ्कट गहिरिँदै गएकाले संरक्षण गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “स्वच्छ हावा, सफा पानी, उर्वर भूमि र जैविक विविधता बिना मानव अस्तित्वको सम्भावना छैन । वातावरण मानव जीवनको आधार हो”, उहाँले भन्नुभयो, “अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, वातावरण संरक्षणमा नागरिकको सहभागिता बढाउन र भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसाथ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘म वातावरणको संरक्षण गर्छु’ अभियान अन्तर्राष्ट्रिय वातावरण दिवसबाट औपचारिक रुपमा सुरुवात हुन्छ ।”

अभियानको पहिलो दिन यही जेठ–२१ गते हाटडाँडादेखि मझुवागढीसम्म वृक्षरोपण तथा नगर सरसफाइ गर्ने र सोहि दिन दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयबाट ‘म वातावरणको संरक्षण गर्छु’ भन्ने प्रतिवद्धतासहितको हस्ताक्षर अभियानसमेत सुरु गरिने जनाइएको छ । अभियानमा विभिन्न सरकारी कार्यालयहरु, सङ्घसंस्थाहरु र नगरभित्रको विद्यालयहरुमा हस्ताक्षर सङ्कलन गर्ने जनाइएको छ ।

अभियानको दोस्रो दिन सोही विद्यालयमा वातावरण सम्बन्धी सरोकारवाहरुसँग विद्यार्थीहरुको अन्तरसंवाद र विभिन्न विद्यालयहरुले साँकृतिक नाच प्रस्तुत गर्नेछन् । सरस्वती माध्यमिक विद्यालयले साकेला नाच, पञ्च माध्यमिक विद्यालयले संगिनी नाच, दिक्तेल इङ्ग्‌िलस बोर्डिङ स्कूलले सडक नाटक, माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले लाखे नाच र हिलसाइड इङ्ग्‌िलस बोर्डिङ स्कूलले तामाङ सेलो प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अभियानको तेस्रो दिन नगरवासी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक तथा कर्मचारी र अन्य निकायका सरोकारवालाहरुको सहभागितामा मध्यपहाडी लोकमार्गको हुर्लुङदेखि रेडपाण्डा–थार पदमार्ग हुदैँ रुपाकोट डाँडासम्म पर्यावरणीय यात्रा गरिने नगरपालिकाले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । उक्त अभियानले वातावरणीय चेतनाको अभिवृद्धि हुने, हरित क्रान्ति, दिगो विकास र वृक्षरोपणको प्रवद्र्धन गर्ने, फोहर व्यवस्थापन सुधार र चेतना फैलिने, जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहयोग पुग्ने, जैविक विविधताको संरक्षणमा सहयोग पुग्ने, युवा पुस्ता र विद्यार्थीमा वातावरणप्रतिको जिम्मेवारीबोध विकास हुने नगरपालिकाले जनाएको छ ।

वातावरण संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभइ सम्पूर्ण मानव जातिको साझा दायित्व भएकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । ‘म वातावरणको संरक्षण गर्छु’ अभियानलाई सफल बनाउन नगरपालिकाले सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा नगरवासीलाई अनुरोध गरेको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले यसअघि पनि जैविक विविधता तथा पर्यावरण संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा तथा थार महोत्सव, जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

राष्ट्रिय बाँस सम्मेलन गरेर बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन एवम् नीति निर्माणका लागि दबाब सिर्जना गरेपछि नेपाल सरकार, शहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माण सम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ । सरकारले स्वीकृत गरेको मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनसमेत समावेश गरिएको छ ।

जैविक विविधता तथा वातावरण संरक्षणमा काम गर्दै आएको नगरपालिकालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले पुरस्कृत गरेको छ । बाँसजन्य स्रोतको संरक्षण, प्रवद्र्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया