क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्यो

Halesi Khabar
462 Shares

खोटाङ, २३ जेठ । फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बन्नुभएकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार ९९१ आर्थिक सहयोग जुटेको छ । हाल झापाको बुद्धशान्ती चोक बस्दै आउनुभएकी पीडित दुर्गाको उपचारका लागि १८८ जना शुभेच्छुकबाट रु दुई लाख एक हजार ९९१ आर्थिक सहयोग जुटाइएको हो ।

अभियानका क्रममा सङ्कलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता एवम् नेपाली काँग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले जानकारी दिनुभएको छ । सङ्कलित रकममध्ये रु एक लाख १२ हजार भने चिसापानीबजारमा सामुहिक रुपमा सङ्कलन गरिएको हो ।

फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि गत मङ्सिरदेखि दुर्गाको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फोक्सोमा भएको क्यान्सर जित्ने कोसिस भइरहेकै बेला दुर्गालाई ब्रेन ट्युमरको समस्यासमेत थपिएको आफन्तले बताएका छन् ।

दुर्गालाई नियमित टाउको दुखिरहने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको दुर्गाका पति गणेश बस्नेतले जानकारी दिनुभएको छ । गत जेठ–७ गते दुर्गाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको जनाइएको छ ।

फोक्सोको क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट एकैसाथ आक्रमणमा पर्नुभएकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि आर्थिक सहयोग जुटाइरहेका छन् । दुईवटा रोगबाट एकैसाथ पीडित बन्नुभएकी एक छोरीकी आमा दुर्गाको हेरचाह पति गणेशले गर्दै आउनुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया