ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको काम अन्तिम चरणमा

Halesi Khabar
1.3k Shares

खोटाङ, १३ जेठ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन आगामी दशैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणको कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ ।

निर्माणाधीन अस्पताल भवनको भूइँतलामा ईमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ) सेवा, दोस्रो तलामा वार्ड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण (स्टोर) र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । एघार महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित रु १९ करोड ३० लाख ४४ हजार १६४ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको हो ।

हरेक फ्लोर (तला)मा पब्लिक (सर्वसाधारण÷सेवाग्राही) र स्टाफ (कर्मचारी)का लागि महिला÷पुरुष छुट्टाछुट्टै सौचालय निर्माण हुने सम्झौतामा उल्लेख छ । अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम फ्लोरसम्म नै ¥याम्प भ¥याङ (ह्वील चियर गुडाउन मिल्ने भ¥याङ) निर्माण हुने जनाइएको छ ।

निर्माणाधीन अस्पताल भवनको भूइँ तला र दोस्रो तलामा प्लास्टर सम्पन्न गरेर तेस्रो तलामा इँटा जोड्ने काम शुरु गरिएको निर्माणस्थलमा खटिनुभएका ठेकेदार कम्पनीका इन्जिनियर नवीनकुमार यादवले जानकारी दिनुभयो । “साढे तीनतला अग्लो अस्पताल भवनको अन्तिम तलाको ढलान यही जेठ–६ गते सम्पन्न ग¥यौँ । निर्माणस्थलमा अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाइएको छ”, उहाँले भन्नुभयो, “स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ । असार मसान्तभित्र समग्रमा ९० प्रतिशत काम सम्पन्न गर्छौँ । साउन–१ गतेदेखि रङरोगनको काम शुरु गरेर तोकिएको समयमै हस्तान्तरण गर्नेगरी कामलाई तीव्रता दिएका छौँ ।”

वि.सं. २०७९ साउन–२६ गते सम्झौता गरिएको अस्पताल भवनको काम गत २०८० माघ–२३ सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा अस्पताल भवन निर्माणको काम सम्पन्न नभएपछि छ महिना अर्थात वि.सं. २०८१ साउन–२५ गतेसम्मका लागि पहिलो पटक म्याद थप गरिएको पाइएको छ ।

जग्गा विवादका कारण ढिलागरी शुरु गरिएको अस्पताल भवन गुणस्तरीय बनाउन तथा थपिएको मितिमा सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट सहजीकरण गर्ने काम भइरहेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शुरुमा जग्गा विवादले सम्झौता ढिलो भयो । वर्षाद्को समयमा सम्झौता भएकाले ठेकेदार कम्पनीले काम गर्न सकेन”, उहाँले भन्नुभयो, “अहिले छ महिनाको म्याद थप भएको छ । तोकिएको समयमा जसरी पनि सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छु ।”

प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल वि.सं. २०७७ मङ्सिर–१५ गते नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री राजन राईले शिलान्यास गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले वि.सं. भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याको ३०९ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल भवन निर्माणको योजना परेको थियो ।

अस्पतालका लागि स्थानीय पर्शु राजभण्डारीले रु ३० लाख मूल्य बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा निर्माण शुरु गरिएको पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुग्दा ऐसेलुखर्कका स्थानीय बासिन्दासमेत हर्षित छन् ।

ऐसेलुखर्कमा निर्माणाधीन सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला सोलुखुम्बूका स्थानीय बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ । सोलुखुम्बूको थुलुङ दूधकोशी गाउँपालिकाको अधिकांश वडाबासी अहिले पनि ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया