दिक्तेल रुपाकोट मझुवागढीका दुई हजार ११२ जना बालबालिकालाई पोलियोविरुद्धको खोप

Halesi Khabar
28 Shares

खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले यही जेठ–१३ गतेदेखि पोलियोविरुद्धको आई.पि.भि. खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । वि.सं. २०७३ वैशाखदेखि वि.सं. २०७५ असोजभित्र जन्मेका बालबालिकालाई लक्षित गरेर नगर स्वास्थ्य शाखाले खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

नगरपालिकाका १५ वटै वडामा सञ्चालन गरिने खोप कार्यक्रममा दुई हजार ११२ बालबालिका सहभागी हुने स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ । “वि.सं. २०७३ वैशाखदेखि वि.सं. २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन । अहिले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याइएको हो”, उहाँले भन्नुभयो, “यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन । पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दै कि भन्ने हुनसक्छ । खोप र पोलियो थोपा फरक हो । उनीहरुलाई पनि खोप लगाउनुपर्छ ।”

जेठ–१३ गतेदेखि सञ्चालन गरिने खोप कार्यक्रमका लागि नगरपालिकामा ४८ वटा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिनुभएको छ । प्रत्येक वडामा तीन÷तीन दिन खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय कार्यक्रम अन्तरगत नगरपालिकामा पनि खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि सोही दिनदेखि खोप कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया