अपाङ्ग तथा जेष्ठ नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर

Halesi Khabar
56 Shares

खोटाङ, २२ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई उनीहरुको गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको छ । प्रदेश सरकार, नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा नगरपालिकाभित्रका १५ वटै वडामा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचानका लागि घुम्ती शिविर आयोजना गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित घुम्ती शिविर वडा नं. १० पाथेकाबाट शुरुवात गरिएको नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इरन राईले जानकारी दिनुभएको छ । “अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई उहाँहरुको गाउँमै पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा एकजना फिजियो थेरापी डाक्टर, एकजना मेडिकल अधिकृत र दुईजना टेक्नीसियन (स्वास्थ्य प्राविधिक) सहभागी छन्”, उहाँले भन्नुभयो, “मेडिकल अधिकृतको सिफारिसको आधारमा अपाङ्गता भएका व्यक्तिलाई शिविरमै अपाङ्गता परिचयपत्र वितरण गर्ने गरेका छौँ । हालसम्म विभिन्न प्रकृतिका अपाङ्गता भएका ८२४ जना व्यक्तिलाई परिचयपत्र उपलब्ध गराइसकेका छौँ ।”

यही वैशाख–१३ गतेबाट शुरुवात गरिएको घुम्ती शिविर वैशाख–२७ गते वडा नं. १ दिक्तेलमा सञ्चालन गरेर समापन गरिने आयोजकले जनाएको छ । घुम्ती शिविरमा सामान्य किसिमका अपाङ्गता भएका व्यक्ति बिरामी रहेको अवस्थामा निःशुल्क औषधि वितरण तथा गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि बाहिर (सुविधायुक्त अस्पतालमा) रिफर गर्ने गरिएको आयोजकले जनाएको छ ।

नगरपालिकाभित्र पर्ने प्रत्येक वडामा आयोजना गरिएको घुम्ती शिविरमा अपाङ्गता भएका व्यक्तिका लागि वैशाखी तथा ह्वील चियर उपलब्ध गराउन साईज (आकार)को नापसमेत लिने गरिएको जनाइएको छ । घुम्ती शिविरमा लिइएको नापको आधारमा वैशाखी तथा ह्वील चियर बाहिरबाट झिकाएर अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने शाखा प्रमुख राईले जानकारी दिनुभएको छ ।

नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन भएको कार्यक्रम गत माघ–१ गतेबाट लागू भएर तीन वर्ष अर्थात वि.सं. २०८३ पुस मसान्तसम्म सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने जनाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै एक हजार १८३ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार ९२२ जना शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेशन नेपालको ३५÷३५ प्रतिशत तथा स्थानीय तहको ३० प्रतिशत लगानीमा सञ्चालन हुने उक्त कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै जिल्ला दशवटै स्थानीय तहमा सम्झौता भएर कार्यान्वयनमा ल्याइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा उक्त कार्यक्रम तीन÷तीन वर्ष सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया