५० शय्याको अस्पताल भवन निर्माणको काम दुई महिनादेखि अवरुद्ध, बिरामीलाई साँघुरो कोठामा राखेर उपचार गर्नुपर्ने बाध्यता

Halesi Khabar
77 Shares

खोटाङ, ३० फागुन । जिल्ला अस्पताल खोटाङमा निर्माणाधीन ५० शय्याको सुविधायुक्त पक्की अस्पताल भवन गत पुस–२४ गते नै सम्पन्न हुनुपर्ने थियो । नेपाल सरकारको भ्याटसहित रु २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभी काठमाडौँले निर्माणको जिम्मा लिएको अस्पताल भवन गत पुसदेखि नै निर्माणको सम्पूर्ण काम ठप्प छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार ५० शय्यामा स्तरोन्नति गर्नेगरी निर्माणको काम शुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माणको काम गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रोलाले बताउनुभएको छ । “म कार्यालय प्रमुखको रुपमा गत पुस–४ गते खोटाङको आएको हुँ । म आउनुभन्दा अगाडिबाटै अस्पताल भवन निर्माणको काम रोकिएको रहेछ । भुक्तानी नभएर हो वा अन्य कुनै कारणले हो । गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूण काम ठप्प छ”, उहाँले भन्नुभयो, “ठेकेदारको लापरबाहीले निर्माणाधीन अस्पतालको पक्की भवन समयमा सम्पन्न नहुँदा ट्रस भवनको साँघुरो कोठामार्फत अस्पतालको सम्पूर्ण सेवा प्रवाह गरिरहेका छौँ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

वि.सं. २०४९ वैशाख–१ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्नका वि.सं. २०७८ असार–२४ गते ठेकेदार कम्पनीले सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले ३० महिनाभि सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको अस्पताल भवन निर्माणको म्याद गत पुस–२४ गते नै सकिएको हो ।

निर्माणाधीन अस्पताल भवन आयोजना सम्पन्न गर्नका लागि सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गाले पुनः १५ महिनाको म्याद थपेको बताइएको छ । लम्बाई ४० मिटर र चौडाई २० दशमलव ५ मिटर भएको चारतले सुविधायुक्त अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि रोकिएको हो ।

रोकिएको कामलाई निरन्तरता दिन पटकपटक फोन गर्दा ठेकेदार कम्पनीका बाबुराम कटवाललको मोबाइल नै अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । “ठेकेदारलाई धेरै चोटी फोन गरिसकेँ । निर्माणस्थलमा खटिएका ठेकेदार बाबुराम कटवाललको मोबाइल स्वीच अफ छ । सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गाका इन्जिनियरले मङ्गलबार एकजना प्रतिनिधिलाई सम्पर्कमा ल्याएका छन् । सम्पर्कमा आएका ती प्रतिनिधिले अब चाँडै रोकिएको काम पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन्”, उहाँले भन्नुभयो, “मैले काम रोकिनुका कारण सोधेँ । प्राविधिक कारणले भुक्तानी रोकिएका कारण बीचमा काम रोक्नुपरेको बताएका छन् । इन्जिनियरसमेत राखेर गरिएको भेटका क्रममा त्यो विषय मिलाइसकेँसमेत भनेका छन् । मैले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्देशन दिएको छु । दुई÷चार दिनभित्रै काम शुरु गर्छौँ भनेका छन् । हेरौँ, के गर्छ ! त्यसपछि पनि ठेकेदारले काम शुरु नगरेको खण्डमा कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।”

स्थापना भएको २९ वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, डेलीभरी (सुत्केरी गराउने ठाउँ) कक्ष, शल्यक्रीया (अपरेशन) कक्ष, इमरजेन्सी (आकस्मिक) कक्ष लगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको काम थालिएको थियो । स्थापना भएको लामो समयसम्म पुरोनो संरचनाका अस्पताल भवनमार्फत स्वास्थ्य सेवा लिँदै आएका जिल्लाबासी ढिलै भएपनि सुविधायुक्त पक्की भवनमा ५० शय्याको अस्पतालमा स्तरोन्नति हुने भएपछि हर्षित भएका थिए ।

पुरानो संरचनाका अस्पताल भवन भत्काइएपछि सोही ठाउँको माथिल्लो तलामा ट्रस भवन निर्माण गरेर अस्पतालको नियमित सेवा सञ्चालन गरिएको छ । साँघुरो तथा एउटै ट्रस भवनमा बसेर अस्पतालको सम्पूर्ण काम गर्नुपर्दा समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।

अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेको समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको प्रमुख डा. सङ्ग्रौलाले बताउनुभएको छ । “एक महिनामा दश÷पन्ध्र जना महिललाई शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छौँ । शल्यक्रिया कक्ष साँधुरो छ । शल्यक्रियाका लागि आवश्यक जनशक्ति अटाउने स्थिति छैन”, उहाँले भन्नुभयो, “ट्रस भवनमा सञ्चालित अस्पतालमा शय्या अभाव भएकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामीहरुलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरेका छौँ । यस विषयमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ । ताकि, आगामी दिनमा यस्तो समस्या भोग्न नपरोस ।”

ठेकेदार कम्पनीमार्फत निर्माण गरिएको ट्रस भवनमा सञ्चालित अस्पतालमा चिकित्सकहरुलाई बिरामीको उपचार गर्न आवश्यक औजार तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

निर्माणाधीन चार तले पक्की अस्पताल भवनको पहिलो तलामा ओपिडि कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रुम लगायतका संरचना निर्माण गरिने जनाइएको छ । दोस्रो तलामा प्रसुति सम्बन्धी सेवा तथा पसुति सम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हल लगायतका संरचना रहने सम्झौतामा उल्लेख छ ।

दश स्थानीय तह रहेको जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पताल सञ्चालनमा रहेका छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौँ लगायतका सुविधायुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया