खोरबाट उद्धार गरिएकी फुरदिकुको मानसकि अस्पताल लगनखेलमा उपचार शुरु

Halesi Khabar
315 Shares

खोटाङ, १४ फागुन । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसकि अस्पताल लगनखेलमा उपचार शुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ–१६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।

उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी अस्पताल भर्ना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारीसँग कुरा गरेर उपचार शुरु गरिएको छ । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “उपचारमा संलग्न डाक्टरहरुले फुरदिकुको समस्या चाँडै ठीक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुन्छ । फुरदिकुको कुरुवाका रुपमा बस्ने एकजना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।”

मान्छे देख्दा झनक्क सिराउने, आक्रमण गर्ने, गालीबेइजत बोल्ने, बेठेगान तरिकाले हिँड्ने लगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन–१२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।

आर्थिक अभावमा खोरमा थुनिनुभएकी फुरदिकुलाई नगरपालिकाले जीपमा चढाएर सोमबार अपरान्ह अस्पताल पु¥याइएको थियो । वि.सं. २०६७ सालमा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न शुरु भएको पारिवारिक स्रोतले जनाएको त्योबेला औषधि सेवन गराएपटि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोश्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुनः गत माघ–३ गतेदेखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताउनुभएको छ ।

पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दखाउन थालेपछि लाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनथलाकै जालपा माध्यमिक विद्यालबाट वि.सं. २०६७ सालमा एसएलसी उत्तिर्ण गर्नुभएको छ ।

एक छोराकी आमा फुरदिकुले वि.सं. २०७२ सालमा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग विवाह गर्नुभएको थियो । प्रेम विवाह गर्नुभएकी फुरदिकुको श्रीमान दाजाङको मुटुको समस्यका कारण वि.सं. २०७६ सालमा मृत्यु भयो ।

पच्चीस वर्षकै उमेरमा बिधुवा बन्नुभएकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्कनुभएको थियो । ज्वाइँ (फुरदिकु)को श्रीमान दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुबा पेमाछेतर शेर्पाले बताउनुभएको छ ।

आमासँगै मावली घर नुनथला बस्दै आएका छ वर्षीय पसनुरी कक्षा–३ मा पढ्दै आएका छन् । तीन वर्षकै उमेरमा बुबा गुमाएका पसनुरीको आमासमेत मानसिक रोगी भएपछि उनको भविष्य अन्यौलमा परेको छ ।

मानसिक सन्तुलन गुमाएर खोरमा थुनिनुभएकी फुरदिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवम् उपचारका लागि हालसम्म ३२ दाताबाट रु ५१ हजार ३१२ सहयोग सङ्कलन भइसकेको पत्रकार चिसाङ शेर्पाले बताउनुभयो ।

फुरदिकुको सहयोगमा २६ जनाबाट सङ्कलन भएको रु ३० हजार ५०० भने सोमबार बुबा पेमाछेतरलाई हस्तान्तरण गरिसकिएको छ । फुरदिकुको लागि जुटेको सहयोग रकम छोरा पसनुरीको शिक्षादिक्षामा उपयोग गर्नेगरी हस्तान्तरण गरिने सहयोग सङ्कलनको नेतृत्व गर्नुभएका पत्रकार शेर्पाले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया