सात दिनकी सुत्केरीलाई उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटोमै मृत्यु

Halesi Khabar
2.8k Shares

खोटाङ, १४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी सात दिनकी सुत्केरी लक्ष्मी बुढाथोकीको उपचारमा लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । यही फागुन–७ गते जिल्ला अस्पताल खोटाङमा सुत्केरी भएकी २३ वर्षीया लक्ष्मीको थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज (सोमबार) सिन्धुलीको मुलकोट पुगेपछि बाटैमा मृत्यु भएको हो ।

जिल्ला अस्पताल खोटाङबाट डिस्चार्ज भएर घर फर्काइएकी सुत्केरीलाई श्वास फेर्न गाह्रो हुने, शरीर सुन्निने, खोकी लाग्ने लगायतका समस्या देखिएपछि गएराति जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरीलाई पल्मोनरी इम्बोलिजम भएको आशंकामा थप उपचार गराउन जिल्ला अस्पताल खोटाङले सुविधायुक्त अस्पतालका लागि रिफर गरेपछि अक्सिजनसहितको एम्बुलेन्समा राखेर काठमाडौँ पठाइएको थियो ।

अक्सिजनको मात्रा कम भएको, श्वास फेर्न गाह्रो भएको, खोकी लागेको, छातीमा घ्यारघ्यार भएको, खुट्टा सामान्य सुन्निएको लक्षणका आधारमा सुत्केरीलाई पल्मोनरी इम्बोलिजम (फोक्सोको रक्त नलीमा रगतको ढिक्का जम्ने समस्या) भएको आशंका गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश संग्रौलाले बताउनुभएको छ । “श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने समस्या देखिएपछि सुत्केरीलाई राति साढे १० बजे इमरजेन्सीमा ल्याइएको थियो । त्यो बेला अक्सिजनको मात्रा ३५ मात्र थियो । खुट्टा हल्का सुन्निएको थियो । अक्सिजन दिँदा पनि ७०÷७५ भन्दा बढी अक्सिजनको मात्रा थिएन” उहाँले भन्नुभयो “पल्मोनरी इम्बोलिजमको आशंकामा फोक्सोको एनजिओग्राम गरेर प्राथमिक उपचार शुरु गरेर अक्सिजन भएको एम्बुलेन्समा काठमाडौँ पठाइएको थियो । हजारमा एक÷दुई जनामा फोक्सोको नलीमा रगतको ढिक्का जम्ने समस्या हुन्छ, त्यसलाई हामी पल्मोनरी इम्बोलिजम भन्छौँ । त्यो समस्याको उपचार जिल्ला अस्पताल खोटाङमा हुँदैन । थप उपचारका लागि अक्सिजनसहित काठमाडौँ पठाएका हौँ ।”

तीन दिन र सात दिनका सुत्केरीलाई भेटघाट गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यक्रम अनुसार गत शनिबार अनमी उमा राई हप्ता दिनको सुत्केरी भेट्न लक्ष्मीको घरैमा पुग्नुभएको थियो । हप्ता दिनको भेटकाक्रममा लक्ष्मीको प्रेसर बढेको र शरीर सुन्निएको समस्या देखिएपछि अनमी राईले तत्काल जिल्ला अस्पताल लैजान सल्लाह दिनुभएको जनाइएको छ ।

घरैमा बिरामी परेकी सुत्केरीलाई तत्काल उपचार गर्नुपर्ने अवस्था देखिए पनि न्वरानका कारण राति मात्रै अस्पताल लगिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभएको छ । सुत्केरीको फोक्सोको एनजिओग्राम गरेर प्राथमिक उपचार शुरु गरेपछि जिल्ला अस्पताल खोटाङले सुत्केरीलाई तत्काल काठमाडौँ लैजान भन्दै रिफर गरेको आफन्तले बताएका छन् ।

पहिलो सन्तानकी आमा लक्ष्मीको उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्युपछि नवजात शिशु (छोरी)को बिचल्ली भएको जनाइएको छ । उपचारका लागि लैजानेक्रममा ज्यान गुमाएकी लक्ष्मीको शव अन्तिम दाहसँस्कारका लागि सोही एम्बुलेन्समा राखेर घर फर्काइएको प्रहरीले जनाएको छ ।

जिल्लाको एकमात्र सरकारी अस्पतालमा दक्ष जनशक्ति तथा आवश्यकीय स्वास्थ्य उपकरण नहुँदा अधिकांश बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल स्रोतले जनाएको छ । सामान्य किसिमका बिरामीलाई समेत अस्पतालले रिफर गर्ने गरेको बिरामीका आफन्तहरुले गुनासो गर्दै आएका छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया