खोरमा थुनिएकी फुरदिकुलाई उद्धार गरेर उपचारमा लगियो

Halesi Khabar
413 Shares

खोटाङ, १४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्य देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगेको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ–१६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिकाको वडा नं.–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले सोमबार उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो ।

महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी जीप चढाएर काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन–१२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।

उद्धार गरिएकी फुरदकिुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारीसँग कुरा गरेर फुरदिकुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । उहाँ (फुरदिकु)को उपचार सम्भव हुन्छ भन्ने डाक्टर सा’बहरुले बनेका छन्”, उहाँले भन्नुभयो, “उपचार अभावमा कोही पनि नागरिकलाई मर्न दिँदैनौँ । स्वास्थ्यकर्मीहरुका अनुसार फुरदिकुको समस्या सामान्य हो भन्ने छ । उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाको तर्फबाट तिरिदिन्छौँ ।”

मान्छे देख्दा झनक्क सिराउने, आक्रमण गर्ने, गालीबेइजत बोल्ने, बेठेगान तरिकाले हिँड्ने, गीत गाइरहने लगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेका थिए । वि.सं. २०६७ सालमा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न शुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोश्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको बुबा पेमाछेर शेर्पाले बताउनुभएको छ । “परिवारको पहिलो सन्तान फुरदिकुले नुनथलाकै जालपा माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी छन् । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भयो । फुरदिकुको उपचारका क्रममा अहिलेसम्म करिब रु सात लाखभन्दा बढी खर्च भइसकेको छ । पुनः गत माघ–३ गतेदेखि अस्वस्थ बनिन् । अनियन्त्रित भएपछि उनलाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको हो”, उहाँले भन्नुभयो, “एसएलसीको तयारी गरिरहेकोबेला फुरदिकुलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौँसम्मका धामीझाक्री लगाइयो । माताकोमा समेत लगियो । त्यती गर्दा पनि ठीक नभएपछि परिवारले उसलाई जिल्ला अस्पताल दिक्तेल पु¥यायो । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइयो । सोलुखुम्बुमा लगेर सात महिना क्रिस्चियन बनाएर राखेपछि घर फर्काइयो । त्योबेलासम्मा औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उसको मानसिक समस्या पूर्णरुपमा निको भयो । अहिले पुनः दोहोरिएपछि समस्या भयो । यो बेला खर्च पनि छैन । धन्न बेलैमा नगरपालिकाले उद्धार गरिदियो । चाँडै उपचार सफल भएर फर्कियोस् ।”

फुरदिकुले वि.सं. २०७२ सालमा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग प्रेम विवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरेको दुई वर्षपछि फुरदिकुले छोरा पसनुरी जन्माउनुभयो ।

सँगै बाच्ने र सँगै मर्ने कसम खाएर प्रेम विवाह गरेको श्रीमान दाजाङको मुटुको समस्यका कारण वि.सं. २०७६ सालमा मृत्यु भयो । २५ वर्षकै उमेरमा बिधुवा बन्नुभएकी फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो ।

अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पु¥याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो । तर, खाँदै गरेको औषधि नियमित खान छाडेपछि पुनः स्वास्थ्यमा समस्या दोहोरिएको हो ।

श्रीमान दाजाङको मुटुरोगका कारण मृत्यु भएपछि फुरदिकु तीन वर्षअघि छ वर्षीय छोरा पसनुरीसहित माइती घर नुनथला फर्किनुभएको थियो । पसनुरी अहिले मावली घर नुनथलामा बसेर कक्षा–३ मा पढ्छन् ।

मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको उपचारका लागि शुभेच्छुकबाट रु ३० हजार ५०० आर्थिक सहयोग जुटेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवम् उपचारका लागि २६ जना शुभेच्छुकबाट आर्थिक सहयोग जुटेको हो ।

पत्रकार चिसाङ शेर्पाको पहलमा सङ्कलन भएको सहयोग रकम बुबा पेमाछेतरलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राईले शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया