उपचारको क्रममा बिरामीको मृत्यु प्रकरण : नक्कली डाक्टरसहित तीनजना ११ वर्षपछि पक्राउ

Halesi Khabar
455 Shares

खोटाङ, २९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्धामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ । वि.सं. २०६९ सालमा हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा लापरबाहीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको भन्दै मृतक परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरेको हो ।

नक्कली प्रमाण–पत्रधारी मेहताले ‘म डाक्टर हुँ’ भन्दै उपचार गर्नेक्रममा पोलिक्लिनिकमा भर्ना भएका राईको वि.सं. २०६९ फागुन–१७ गते साँझ मृत्यु भएको थियो । पाँच मिनेटको अन्तरमा दुईवटा सुई लगाएको पाँच मिनेटपछि बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त देवीसरा राईले वि.सं. २०६९ चैत्र–१४ गते मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो ।

बिरामी राईको मृत्युपछि फरार रहेका मेहतालाई माघ–२४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । छानबिनकाक्रममा उपचारमा संलग्न डाक्टर मेहताले नक्कली प्रमाण–पत्र पेश गरेर पोलिक्लिनीकमा काम गर्दै आएको खुलेपछि मृतक परिवार किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

तत्कालीन अवस्थामा आयुर्वेदमा एचए उत्तिर्ण गरेका मेहताले चीनबाट एमबिबिएस गरेको नक्कली प्रमाण–पत्र पेश गरेर उपचार गरिरहेको खुलासा भएको थियो । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सोही दिनदेखि महिना दिनसम्म पोलिक्लिनिक बन्द गराएका थिए ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबीच मृतकको उपचारमा संलग्न मेहतालाई कारबाही गर्ने, पोलिक्लिनिकको सेवा सुविधालाई पारदर्शीढङ्गले सञ्चालन गर्ने, एमबिबिएस डाक्टर राखेरमात्र पोलिक्लिनिक सञ्चालन गर्ने, सार्वजनिक सूचना आव्हान गरेरमात्र कर्मचारी छनोट गर्ने लगायतका बुँदाहरुमा सहमति भएपछि बन्द पोलिक्लिनिक महिनादिनपछि चैत–२९ गतेदेखि खुलाइएको थियो । नक्कली डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको हल्ला फैलिएपछि बिरामी जान छाडेसँगै पोलिक्लिनिक स्वतः बन्द भएको थियो ।

प्रहरीले सोही पोलिक्लिनिक सम्वद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साह र बोदेबरसाइन नगरपालिका–२ का ४२ वर्षकै अशोककुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनाबिरुद्ध हिजो (आइतबार) तीन दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ ।

महेशप्रसाद र अशोककुमार घटनापछि पुनः दिक्तेलमै छुट्टाछुट्टै दुईवटा पोलिक्लिनिक खोलेर सञ्चालन गर्दै आएका थिए । उनीहरु दुवैजनालाई दिक्तेलस्थित आ–आफ्नो पोलिक्लिनिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया