बजेट सुनिश्चित नहुँदा आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

Halesi Khabar
91 Shares

खोटाङ, २९ माघ । बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम शिलान्यासमै सीमित भएको छ । गाउँपालिकाको वडा नं. ४ फाक्टाङको धर्तुङमा निर्माण हुने आधारभूत अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी ओलीले वि.सं. २०७७ मङ्सिर–१५ गते भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याको ३०९ वटा अस्पतालको शिलान्यास गर्नुभएको थियो । दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही ३०९ वटा आधारभूत अस्पतालको सूचीमा समावेस बराहपोखरीको धर्तुङमा शिलान्यास गरिएको पालिकास्तरीय अस्पतालको भवन हालसम्म पनि बन्न नसकेको हो ।

धर्तुङमा आधारभूत अस्पताल बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दश लाख खर्च गरेर घडेरी सम्याउने काम सम्पन्न गरेको गाउँपालिकाका प्रशासन सहायक एवम् सूचना अधिकृत रमेश पोखरेलले जानकारी दिनुभएको छ । धाप्लाङ–धर्तुङ सडक नजिकै आधारभूत अस्पताल निर्माणका लागि गाउँपालिका उपाध्यक्ष भूवलराज राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

पालिकास्तरीय अस्पताल भवन निर्माणका लागि जग्गा जुटाएर भवनको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर अर्थमन्त्रालयमा बजेट माग्न जाँदा बजेटको सुनिश्चितता भएपछिमात्रै भवन बन्ने जवाफ आएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभएको छ । “पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ । हो न हो, पाँच शय्याको अस्पताल बन्यो भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ । डिपिआर पास गरेर अर्थमन्त्रालय जान्छौँ त तिमीहरु कहाँ हिँडेका भन्छन् ! होइन हाम्रो गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास भइसक्या छ । बजेट चाहियो भनेको त पैसाको सुनिश्चितता छैन पो भन्छ ! नहुने कुरो किन बोलेको त भनेको, अब यस्तै छ तपाईहरुकै नेताले बोल्नु भएको हो । अब हुन्छ भनेर पठाइदियो”, उहाँले भन्नुभयो, “हामी उधारो कारोबारमा परेका रहेछौँ । यो मेरो दोष होइन । पैसा नभएकै कारण निर्माणको काम रोकिएको हो । हामीले डिपिआरको काम सकेका छौँ । अब भने अस्पताल भवन निर्माणको काम हुन्छ । केही समय लाग्छ । जसरी भएपनि आफ्नै कार्यकालमा अस्पताल भवन निर्माण गरेर सञ्चालनमा ल्याउने योजनामा छु ।”

अस्पताल भवन निर्माणका लागि अर्थमन्त्रालयबाट आर्थिक वर्ष २०८०÷०८१ मा रु २० लाख विनियोजन भएको गाउँपालिका प्रमुख बञ्जराले जानकारी दिनुभएको छ । तर, सो रु २० लाख रकमले ठेक्का खोल्नै नपुग्ने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णय, जग्गा व्यवस्थापन, डिपिआर तयार, टेन्डर लगायतका प्रक्रिया पूरा नभएका कारण जिल्लामा शिलान्यस गरिएका धेरैजसो अस्पताल भवन निर्माणका लागि विनियोजित बजेट फ्रिज भइरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा बराहपोखरीसँगै दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा दुई वर्षअघिमात्रै पाँच÷पाँच शय्याको अस्पताल निर्माणका लागि योजना परेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पहिलो वर्ष अर्थात आर्थिक वर्ष २०७७÷०७८ मा छवटा स्थानीय तहका लागि योजना परेको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावाबेँसी, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल भवन निर्माणको योजना परेको हो ।

पहिलो वर्ष नै योजना परेका अस्पतालहरुको कामसमेत अहिलेसम्म सम्पन्न भएका छैनन् । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा निर्माणाधीन पाँच शय्याको अस्पताल भवनमा ठेकेदार कम्पनीको लापरबाहीका कारण गुणस्तरहीन बालुवा÷गिटी प्रयोग भएको पाइएपछि पुनः भत्काएर निर्माणको काम शुरु गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । उनन्तीस वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्नेगरी स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया