केएमसीमा उपचार गराउँदा खोटाङका पत्रकारलाई ५० प्रतिशत छुट

Halesi Khabar
574 Shares

खोटाङ, १८ माघ । खोटाङका पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिनेगरी नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङ र काठमाडौँ मेडिकल कलेज (केएमसी)बीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रेस युनियन खोटाङले सिफारिस गरेका खोटाङका पत्रकारहरुले औषधि, इम्प्लाण्ट लगायतका सामग्री बाहेकका विविध सेवामा ५० प्रतिशत छुट पाउनेगरी दुई पक्षीय सम्झौता भएको हो ।

प्रेस युनियनका खोटाङका अध्यक्ष उत्तम चौलागाईँ र केएमसीका कार्यकारी अध्यक्ष सोइना शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । दुई पक्षीय सम्झौतापत्र केएमसीका सञ्चालक डा. सुनिल शर्मा र प्रेस युनियनका अध्यक्ष चौलागाईँले बिहीबार दिक्तेलमा आयोजित कार्यक्रममा आदानप्रदान गर्नुभएको छ ।

स्वास्थ्य युनियनको सिफारिसमा गएका पत्रकारको स्वास्थ्य बीमा अथवा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत भएको खण्डमा सोही अनुसार तथा त्यसको अवधि सकिएको खण्डमा सम्झौता अनुसारको सेवा उपलब्ध हुने जनाइएको छ । सेवा प्राप्तिका लागि प्रेस युनियन खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरुको नामावली काठमाडौँ मेडिकल कलेजलाई उपलब्ध गराउनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

केएमसीले उपलब्ध गराउने भनिएको छुटको व्यवस्था एक वर्षका लागि मात्र हुने सम्झौतापत्रमा उल्लेख छ । केएमसीसँग गरिएको दुई पक्षीय सम्झौता प्रभावकारी हुँदै गएको खण्डमा सम्झौता अवधि बढाउँदै लगिने युनियन खोटाङका अध्यक्ष चौलागाईँले जानकारी दिनुभएको छ ।

कार्यक्रममा सहभागी प्रेस चौतारी नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् कोशी प्रदेशका सह–ईन्चार्ज हरिवोल आचार्यले केएमसीसँग गरिएको सम्झौता प्रेस युनियनसँग नभइ नेपाल पत्रकार महासङ्घसँग गरिएको भए प्रभावकारी हुने प्रतिक्रिया दिनुभएको छ । “पत्रकार महासङ्घ सबैको साझा संस्था हो । पत्रकार महासङ्घसँग सम्झौता भएको भए सबैले सहजरुपमा सेवा लिन सक्थे”, उहाँले भन्नुभयो, “युनियनको सिफारिसमा उपचार गर्न सहजैरुपमा कोही पनि चाहदैनन् । यद्यपि, राम्रो कामको थालनी भएको छ ।”

डा. शर्माले प्रेस युनियनसँगै सम्झौता भएपनि सबै पत्रकारलाई केएमसीमा उपचारका लागि आउन आग्रह गर्नुभएको छ । “यो विषयमा पत्रकार महासङ्घले चासो दिएको भए उसैसँग गरिन्थ्यो । प्रेस युनियनले प्रस्ताव ग¥यो । उसैसँग सम्झौता गरिएको छ”, उहाँले भन्नुभयो, “उपचारमा भेदभाव हुँदैन । खोटाङ जिल्लामा क्रियाशील सबै पत्रकारलाई उपचारमा आउन यसै कार्यक्रममार्फत आग्रह गर्दछु ।”

दिक्तेलस्थित होटल थ्री ब्रदर्शमा आयोजित सम्झौतापत्र आदानप्रदान कार्यक्रममा काँग्रेस भोजपुरका सभापति एवम् प्रदेश सांसद विनोद बान्तवा राई, धनकुटा सभापति दिनेश राई, मोरङका प्रतिनिधिसभा सदस्य मानबहादुर लिम्बू लगायतका नेताहरुको उपस्थिति रहेको थियो । डा. शर्मा कोशी प्रदेशका विभिन्न जिल्लामा पार्टी सङ्गठन, विकास निर्माणको अवस्था, समस्या, वर्तमान आवश्यकता लगायतका बारेमा अध्ययन गर्ने सिलसिलामा खोटाङ आउनुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया