एकीकृत घुम्ती शिविरमार्फत दिप्रुङ चुइचुम्माका एक हजार ४२३ जनालाई सेवा

Halesi Khabar
70 Shares

खोटाङ, १६ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार ४२३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०÷०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवा लागि सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखाले ९२२ जनालाई र सामाजिक सुरक्षा भत्ता र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत ५०१ जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “पालिकाबासीको सहजताका लागि हामीले ‘हेल्लो डाक्टर’ कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएका छौँ । ‘हेल्लो डाक्टर’ कार्यक्रमले २४ सै घण्टा सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वृद्धवृद्धा तथा असक्तलाई समेत गाउँमै सेवा उपलब्ध गराउने गरेका छौँ । यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजनामा छौँ ।”

शिविरमा वडा नं. १ याम्खाका ८५, वडा नं. २ डाँडागाउँका ४५, वडा नं. ३ छोरम्बुका ११६, ४ बतासेका ११०, वडा नं. ५ सप्तेश्वर छितापोखरीका ५३, वडा नं. ६ छितापोखरीका ६८ र वडा नं.–७ टेम्माका १०१ जनाको स्वास्थ्य जाँच गरिएको छ । सामान्य स्वास्थ्य समस्यका लागि अन्यत्र जान नसक्ने सर्वसाधारणलाई लक्ष्यित गर्दै शिविरमार्फत स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको हेल्लो डाक्टर कार्यक्रमका संयोजक अहेब सुरेश प्रधानले जानकारी दिनुभएको छ ।

यही माघ–७ गतेदेखि हप्ता दिनसम्म सञ्चालन भएको शिविरमा नेबुलाइजेसन (वाफ लगाउने), सुगर, ब्लड प्रेसर जाँच, अक्सिजनको मात्रा, नाडीको गति चेकजाँचका साथै सामान्य औषधि वितरण गरिएको जनाइएको छ । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

शिविरमार्फत ९२२ जनालाई सातवटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा प्रमुख यमनलाल श्रेष्ठले जानकारी दिनुभयो । वडा नं. १ याम्खाका १०२, वडा नं. २ डाँडागाउँका १६०, वडा नं. ३ छोरम्बुका १३८, ४ बतासेका १५४, वडा नं. ५ सप्तेश्वर छितापोखरीका ११०, वडा नं. ६ छितापोखरीका ८९ र वडा नं.–७ टेम्माका १६९ जनालाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रु ८१ लाख ६५ हजार ५०० रकम वितरण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया