जन्तेढुङ्गाका २७ जना बिरामीमा डेङ्गु पुष्टि, सचेत रहन गाउँपालिकाको आग्रह

Halesi Khabar
0 Shares

खोटाङ, ३१ भदौ । जन्तेढुङ्गा गाउँपालिकाका २७ जना स्थानीय बासिन्दामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । महिना दिनको अवधिमा गाउँपालिकाका विभिन्न वडाका २७ जना बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

छ वडा रहेको जन्तेढुङ्गा गाउँपालिकामा हाल सक्रिय सङ्क्रमित पाँचजना रहेको र उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार भइरहेको जनाइएको छ । उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका प्रमुख डा. जितेन्द्रसाद साहले जानकारी दिनुभएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भर्ना भएका जटिल किसिमका दुईजना बिरामी थप उपचारका लागि बाहिर गएको जनाइएको छ । उनीहरु दुवैजना बिराटनगरस्थित अस्पतालमा उपचारपछि आ–आफ्नो घर फर्किसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्य कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाबासीमा एकपछि अर्को व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिनेक्रम बढ्दै गएकाले डेङ्गु रोग रोकथाम तथा नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नस्ट गर अभियान शुरु गरिएको गाउँपालिका प्रमुख अरुणा राई ‘दिक्षा’ले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिकामा डेङ्गुको सङ्क्रण दिनानुदिन बढिरहेको छ । नियन्त्रण गर्नका लागि हामीले बजार क्षेत्र, विद्यालय परिसर तथा पानी जम्ने ठाउँहरुमा विषादी छर्किने अभियान शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “डेङ्गुको सङ्क्रमणबाट बँच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने स्वाथ्यकर्मीको सुझाव छ । त्यसैले लामखुट्टेको टोकाइबाट बँच्नका लागि गाउँपालिकाबासी सबैलाई रचेत रहन आग्रह गरेका छौँ ।”

लामखुट्टेको लार्भा खोजी गरि नस्ट गर्ने अभियानका लागि जिल्ला अस्पताल खोटाङबाट विषादी लगिएको जनाइएको छ । स्वास्थ्य शाखाको संयोजनमा सञ्चालन गरिएको अभियानमा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका स्वास्थ्यकर्मी, गाउँपालिका प्रमुख, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेस क्याम्प, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको जनाइएको छ ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सञ्चालन गरेको थियो । नगरपालिकाको संयोजनमा सञ्चालन गरिएको अभियानमा स्वास्थ्य कार्यालय खोटाङ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल हलेसी गुल्म र नेपाल रेडक्रस सोसाइटी खोटाङ सहभागी भएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म ३९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन राजु राउतले जानकारी दिनुभएको छ । गत असारदेखि यता जिल्ला अस्पताल खोटाङमा नौँ जना, हलेसी तुवाचुङ नगरपालिकामा तीनजना र जन्तेढुङ्गा गाउँपालिकामा २७ जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस नामक लामखुट्टेले मानिसलाई टोक्दा डेङ्गु सङ्क्रमण हुने भएकाले सचेत रहन जिल्लाबासीलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभएको छ । एडिस नामक लामखुट्टेले जुनसुकै समयमा टोक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट बच्ने उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया