काठमान्डौँ,२९ साउन । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरू भएको हो ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् र घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।
भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको विश्वास छ ।
नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् ।
एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूणर् परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो ।
अध्यक्ष गौतमका अनुसार नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक गरि आठ प्रकार रहेका छन् ।
गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ ।
नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।


