बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो

Minakshi Rai

खोटाङ, ४ चैत । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाटपाँच जना यात्रु लिएर आज (बुधबार) मध्यान्ह १२ बजेर दुई मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकोप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । दुर्घटनामा पर्नुभएका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनाका काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट मध्यान्ह १२ः ३५ बजे उपचारका लागि काठमाडौँ पठाइएको खार्तम्छाका वडाध्यक्ष मिलन राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकोप्टरले थिचिरहेको अवस्थामा उद्धार गरेर उपचारमा काठमाडौँ पठाइएको हो ।

हेलिकोप्टर दुर्घटनाका घाइते काजीबहादुर र चालक सविनको काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चालक सविनको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

हेलिकोप्टरमा एक महिनाअघि युके (बेलायत)मा ज्यान गुमाउनुभएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्षी राईको शव अन्त्येष्टि गर्नका लागि मृतकका आफन्तहरु आएका थिए । मृतकका श्रीमान ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।

मृतक मनलक्षीको शव भने गाडीमार्फत बिहीबार (भोलि) गाउँ बालाबेँसी आइपुग्ने आफन्तले जानकारी दिएका छन् । हेलिकोप्टर दुर्घटनामा पर्नुभएका आफन्तहरू भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।

दुर्घटनालगत्तै चालकले इन्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताउनुभएको छ । “घटना सम्झदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ”, उहाँले भन्नुभयो, “यस्तो दुर्घटना हुँदा बाँच्ने चान्स (अवसर) थोरैमा मात्रै हुन्छ । चालकले तत्कालै इन्जिन अफ गर्नुभयो । चलिरहेको इन्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ ।”

एयर डाइनेष्टी कम्पनीका क्याप्टेनसमेत रहनुभएका चालक सविनसँग सात वर्षको कार्यअनुभव र कुल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले नै केही खुलाएको छैन ।

एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गर्नुभएको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको केपिलासगढी गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा उत्तानो परेर थुप्रिएको छ । बालाबेँसीमा भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकोप्टरमा काठमाडौँबाट विज्ञ टोली आएर अनुसन्धानपछि फर्किएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया