मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना

Minakshi Rai

खोटाङ, ४ चैत । काठमाडौंबाट मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु लिएर आएको हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेँसीस्थित डाकमणि राईको घरमा आएको हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनामा परेको हो ।

काठमाडौँबाट पाँच जना यात्रु लिएर आएको ‘नाइन एन–एएफक्यु’ हेलिकप्टर अवतरण गर्नेक्रममा दुर्घटनामा परेको खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ । हेलिकप्टर दुर्घटनामा मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।

चालकसहित छ जना सवार हेलिकप्टर बारीको डिलमा अवतरण गरेपछि उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको केपिलासगढी गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ ।

दुर्घटनास्थलमा घाइते भएकाहरुको उद्धारका लागि अर्को हेलिकप्टर पनि आइपुगेको स्थानीयले बताएका छन् । स्थानीय डाकमणि राईको श्रीमती ब्लास्टेम्मा भनिने मनलक्षी राईको शव एम्बुलेन्समा पठाएर आफन्तहरु हेलिकप्टरमा आएका थिए । बेलायतमा करिब महिना दिनअघि दुर्घटनामा परेर ज्यान गुमाउनुभएकी मनलक्षीको शव बेलायतबाट नेपाल फर्काएपछि दाहसंस्कारका लागि बुधबार बालाबेँसी ल्याउन लागिएको हो ।

तपाईको प्रतिक्रिया