दिक्तेल बजारमा दुई दिने बृहत् स्वास्थ्य शिविर, एक हजार ५०० बढीलाई सेवा दिने लक्ष्य

Halesi Khabar

खोटाङ, ५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नगरपालिका तथा काठमाडौँस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजना र गरिमा विकास बैङ्कको सहकार्यमा बिहीबारदेखि निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको हो ।

विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “हाम्रो नगरमा धेरैजना नागरिक स्वास्थ्य सेवा नपाएर बसेका छन् । उनीहरुलाई आफ्नै ठाउँमा निःशुल्क स्वासथ्य सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविर आयोजना गर्न धेरै सङ्घसंस्थाले सहयोग गरेका छन् । यो सहयोगका लागि नगरपालिका धन्यवाद ज्ञापन गर्दछ ।”

निःशुल्क स्वास्थ्य शिविरमा एक्स–रे, प्रयोगशाला, मुटुको इको कार्डियो लगायतका जाँच गर्नुका साथै सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री रोग, महिलामा हुने क्यान्सर, हाडजोर्नी, दन्त चिकित्सा, मनोरोग र चर्मरोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइने रिसर्च सेन्टरका प्रा.लि.का अध्यक्ष डाक्टर आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । शिविरका लागि ओम हस्टिल एण्ड रिसर्च सेन्टरका प्रा.लिका २० जना चिकित्सकको टोली दिक्तेल आएको नगरपालिकाले जनाएको छ ।

शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको सहयोगमा स्वास्थ्य परीक्षण तथा उपचार सुरु गरिएको छ । स्वास्थ्य शिविरमा एक हजार ५०० नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

जिल्ला आयुर्वेद कार्यालय दिक्तेलमा आयोजित शिविरको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले ब्यानर पढेर गर्नुभएको थियो । शहर बजारका सुविधा सम्पन्न अस्पतालमा पाइने स्वास्थ्य सेवा आफ्नै गाउँमा निःशुल्क पाउँदा स्थानीवासीले खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया