खोटाङ,२८ साउन । खोटाङको दिक्तेलबजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा बिहिबार विहान चोरी तथा आगजनीको प्रयास भएको छ । दिक्तेलबजारमा रहेको सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास भएको हो ।
सहकारीको मूख्य ढोका, कोठाभित्र राखिएको ड्रयर र लकरको ताला समेत रडले तोडेको पाइएको सहकारीका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । यस्तै, काउण्टरको टेवलमा राखिएको प्रिन्टर र डोरम्याटमा पेट्रोल छर्केर जलाएको पाइएको छ ।
सहकारीको कार्यालय नजिकै पार्किङ गरेर राखिएको बाइकको पेट्रोल झिकेर आगजनी गरिएको खुलेको अध्यक्ष लयालुले बताउनुभयो।
ओभर भोल्टेज आएपछि सो क्षेत्रमा लाईन काटिएको र कार्यालयको सिसि क्यामेराले एडप्टर जलेर काम गर्न छाडेको मौकामा सहकारीमा चोरी तथा आगजनीको प्रयास भएको हो । सहकारीको कार्यालय अगाडिका व्यवसायी नवराज जोसीले थाहा पाएपछि आगजनीबाट सहकारीको कार्यालय जोगाइएको छ ।
सहकारीको ढोका खुला रहेको देखिएको र डढेको गन्ध आएपछि हेर्दा आजगनीको प्रयास भएको पत्ता लागेको थियो । तत्काल आगो निभाइएका कारण थप क्षती हुन नपाएको जनाइएको छ । बेलैमा आगो निभाइएका कारण सहकारी सँगै बजारका अन्य घर तथा पसल समेत आगलागीबाट जोगिएको छ ।
सहकारीमा चोरी तथा आगजनीको प्रयास गर्ने दोषीको पहिचानका लागि प्रहरीलाई निवेदन दिइएको अध्यक्ष लयालुले बताउनुभयो। ‘सहकारीको कार्यालयमा लागेको आगो तत्काल नियन्त्रणमा लिन सफल भयौं । सहकारीको अन्य कागजात सुरक्षित छ,’ उहाँले भन्नुभयो, ‘बजारलाई नै ध्वस्त बनाउन प्रयास गर्ने जघन्य अपराधीलाई पत्ता लगाएर हदैसम्मको कार्वाहीको माग गरेका छौँ ।’
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयकै क्षेत्रमा रहेको सहकारीमा चोरी तथा आगजनीको प्रयासले दिक्तेलबजारमा सुरक्षा चुनौती देखापरेको छ । यस्तै, बजारको शान्ति सुरक्षाको लागि भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राखेको सिसि क्यामेरा समेत प्रभावहिन देखिएको छ । नगरले राखेको सिसि क्यामेरा नियमित चालु नहुँदा खर्च मात्र गराएको स्थानीयको भनाइ छ ।


