ठेकेदार कम्पनीको लापरवाहीले जग भासिएको खोटाङको दिक्तेल बजारमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको सोल्मास्थित निर्माणाधीन ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)सहितको ट्याङ्की । निर्माणको काम जिम्मा लिएको आशिष निर्माण सेवा कम्पनीका ठेकेदारको लापरवाहीले जग सम्याउँदा फालिएको माटोमाथि ट्याङ्की निर्माण गर्दा भासिएको हो । तस्वीर : हलेसी खबर
खोटाङ, २८ साउन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार लगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणाधीन ट्याङ्की सञ्चालनमा नआउँदै जग भासिएको छ । नेपाल सरकारको ७० र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा शुरु गरिएको खानेपानी आयोजना अन्तरगत सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)सहितको ट्याङ्की सञ्चालनमा नआउदै ट्याङ्कीको पूर्वी उत्तरपट्टीको जग भासिएको हो ।
ठेकेदार कम्पनीले ट्याङ्की निर्माण गर्न जग सम्याउँदा फालेका माटोमाथि ट्रिटमेन्ट प्लान्ट ट्याङ्की निर्माण गरेकाले जग भासिएको सोल्माका स्थानीय बासिन्दा एवम् जनता समाजवादी पार्टी नेपाल खोटाङका युवा नेता धनीराम नछुङले बताउनुभयो । “खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको चरम लापरवाही देखिएको छ”, उहाँले भन्नुभयो, “ठेकेदारको लापरवाहीकै कारण निर्माणाधीन ट्याङ्कीको पूर्वी उत्तरपट्टी पर्ने जगको पर्खाल भत्किएपछि ट्याङ्कीसमेत बग्ने सम्भावना देखिएको छ ।”
जग भासिएपछि ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीभन्दा अझ पूर्वी उत्तरपट्टी निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको छ । ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीको जग भासिएर करीब ५० मिटर फराकिलो ठाउँ ओगटेर पहिरो झरेपछि खानेपानी आयोजनाको प्राविधिक तथा सुरक्षाकर्मी बस्न निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको हो ।
सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट ट्याङ्की तथा प्राविधिक आवासगृहमुनिको पर्खाल वर्षाको कारण भत्किएको भन्ने जानकारी आएको र उक्त पर्खाल तत्काल पुनः निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइ सकिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “पर्खाल भत्किएको विषयमा ठेकेदार कम्पनीसँग कुरो भइसकेको छ”, उहाँले भन्नुभयो, “कुराकानीको क्रममा भोलिबाटै ठेकेदार कम्पनीले उक्त पर्खाल पुनः निर्माण गर्ने बताएको छ । यदि नबनाएको खण्डमा नगरपालिकाको तर्फबाट कानूनी कारबाहीको प्रक्रिया अगाढि बढाइनेछ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला-माझखोलाको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको खानेपानी आयोजनाको प्रशोधन केन्द्रकै ट्याङ्की जोखिममा परेपछि ठेकेदार कम्पनीको चर्को आलोचना शुरु भएको छ । दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयवासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यकासाथ शहरी खानेपानी आयोजनाको काम शुरु गरिएको हो ।
लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका दिक्तेल बजारबासीका लागि लक्षित गरेर प्रशोधनसहितको स्वच्छ वितरण गर्नेगरी खानेपानी आयोजनाको काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित बनेका थिए । नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा हिउँद/वर्षा बाह्रै महिना खानेपानीको समस्या देखिएपछि दीघकालीन रुपमा उक्त समस्या समाधान गर्न उक्त खानेपानी आयोजनाको काम शुरु गरिएको हो ।
सम्झौता गरेको अठार महिनाभित्र पूरा गर्ने लक्ष्यकासाथ गत वि.सं. २०७६ चैत-१४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गर्नुभएको उक्त खानेपानी आयोजनाको काम अहिलेसम्म सम्पन्न भएको छैन । मुहान बिबाद र विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण तोकिएको समयमा खानेपानी आयोजनाको काम सम्पन्न नभएको केठेदार कम्पनीले जनाएको छ ।
आशिष निर्माण सेवा कम्पनीमार्फत पिइए-बिएन निर्माण कम्पनी जेभीले निर्माणको काम जिम्मा लिएको खानेपानी आयोजनामा ट्याङ्की निर्माण, पाइपलाइन विस्तार लगायत भौतिक पूर्वाधार निर्माणको सम्पूणर् काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । “वर्षादका कारण केही ठाउँहरुमा समस्या देखिएका छन्”, उहाँले भन्नुभयो, “समस्या देखिएका ठाउँहरुमा ठेकेदार कम्पनीलाई पुनः निर्माणको काम गराएर आगामी दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”
जिल्लाकै नमूना खानेपानी आयोजनाबाट दिक्तेल बजारको विभिन्न २० ठाउँमा फायरिङ गेटसमेत जडान गरिएको छ । जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा १०० मिटरको फरकमा २० वटा फायरिङ गेट जडान गरिएको हो ।
दिक्तेल बजारमा विस्तार गरिएको पूरानो खानेपानी आयोजनाको धारामा कहिले पानी नै नआउने, आइहाले पनि फोहर तथा दुषित पानी आउने लगायत विभिन्न प्रकारका समस्या वर्षौदेखि रहेको उपभोक्ताको गुनासो छ । यति मात्र नभइ उपभोक्ता समितिका केही पदाधिकारीले आफ्ना नजिकका व्यक्तिको घरमा तीन/चारवटासम्म धारा जडान गरेको र उनीहरुका धारामा चौबीसै घण्टा पानी आउने बनाएकाले आफूहरुलाई थप समस्या भएको उपभोक्ताले आरोप लगाउँदै आएका छन् ।
जिल्लाको सदरमुकामसमेत रहेको दिक्तेल बजारमा सञ्चालित पूरानो खानेपानी आयोजनाबाट करीब ८०० वटा धारा वितरण गरिएको छ । पूरानो खानेपानी आयोजनाको धारामा पानी नआएपछि दिक्तेल बजारबासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् ।


