थारको बच्चा म¥यो कि मारियो ?

Halesi Khabar

–भीम राई
खोटाङ, २६ साउन । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा केही समयअघि थारको बच्चा मारिएको अवस्थामा फेला प¥यो । स्थानीय नन्दकुमार तामाङले जङ्गलबाट गाउँका बालबालिकाले ल्याएको जङ्गली जनवार थारको बच्चा हुर्काउँदै थिए ।

तामाङ बस्ती रहेको बाकाचोलको झाँक्रीबास नजिकै गाईवस्तु चराउन गएका बालबालिकाले पारीपाखा भनिने जङ्गलमा गाईवस्तुलाई पछ्याउँदै आएको थारको बच्चा गत जेठ २५ गते गाउँमा ल्याएका थिए । स्थानीय गणेशबहादुर तामाङ र मित्रबहादुर तामाङको छोराछोरीहरु जङ्गलमा गोठला गएका थिए ।

उनीहरुले भर्खरै जन्मिएको नाभीसमेत नसुकेको थारको बच्चा घरमा बोकेर ल्याएपछि अभिभावकलाई अफ्ठ्यारो परेको छ । सो दिन रातको समय भएकाले उनीहरुले एक रात सो थारको बच्चालाई गणेशबहादुर तामाङकै घरमा राखेका थिए । दूध बाहेक अन्य चिज खान नथालेका थारको बच्चा उनीहरुको घरमा दुहुना नभएकाले दूध खुवाउन नसकिने चिन्ताले जेट २६ गते बिहान घरमा दुहुना भएका ऐसेलुखर्क बजारस्थित सिस्नेका डिल्लीराम तामाङलाई जिम्मा दिए ।

डिल्लीराम तामाङको घरमा थारको बच्चा पु¥याएपछि कुखुराको खोरमा राखिएको थियो । त्यहाँ थारको बच्चा ल्याएको स्थानीय ऐसेलुखर्क गाउँपालिका–२ का वडाअध्यक्ष शन्तवीर तामाङ लगायतले पनि हेरेका थिए । वडा अध्यक्ष तामाङले डिल्लीरामलाई सम्झाए । यो पाल्नु हुँदैन । जहाँबाट ल्याएको त्यतै पु¥याइ दिनु भनेर ।

यसपछि एक रात त्यही राखियो । बच्चा बिरामी हुन थाल्यो । डिल्लीरामले उक्त बच्चा फेरि झाँक्रीबासस्थित कुबिर तामाङको घरमा फर्काइ दिए । खेतीपातीको काममा अलिबढी व्यस्त हुनुपर्ने बाध्यताले कुबिरको घरमा राखिएको थारको बच्चालाई स्याहार सुसार अभावमा बिरामी पर्न थाल्यो ।

सबै गाउँलेहरुले थाहा पाइसकेका थिए । कुबिरले ‘अब के गर्ने पाठो त मर्ने भो कोही अलि फुर्सदिलो मान्छेले लगेर स्याहार गरे त बाँच्छ होला !’ भनेर गाउँले बोलाएर २७ गतेदेखि कुबिरले पालेको थारको बच्चा ३० गते सबै गाउँले मिलेर पाल्नका लागि स्थानीय नन्दकुमार तामाङलाई जिम्मा दिए ।

गाउँलेहरुको सबैको सल्लाहा यसलाई अलि ठुलो भएपछि जङ्गलमै छाड्ने या चिडियाखानामा पु¥याउने थियो । थारको बच्चा कुखुराको खोरमा थुनिएकाले निकै रोगी भएपछि घरमा लगेर राम्रोसँग पाल्ने गाउँलेको सल्लाहा अनुसार ३० गते बेलुकीबाट नन्दकुमारको घरमा लगियो ।

यसरी पाल्नेक्रममा सबै किसिमका औषधिहरु प्रयोग गर्ने, पौष्टिक आहार खुवाउँदै आफ्नै बच्चा जस्तै नन्दकुमारले पाल्दै आएको थार हुर्कदै गयो । यसबीचमा नेपाली काँग्रेसका नेता सर्वधन राईलेसमेत नन्दकुमारको घरमा पुगेर बच्चा हेरेका थिए । उनलाई समेत नन्दकुमारले चिडियाखानामा लैजाने प्रक्रियाका बारेमा सोधेका थिए । नेता राईले प्रक्रियाको बारेमा बुझेर खबर गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

नन्दकुमारको घरमा थारको बच्चा हुर्कदै गयो । शारीरिक हिसाबले समेत तन्दुरुस्त भएको थियो । तर, साउन २१ गते रातको साँडे १ बजे नन्दकुमारको घरमा एक्कासी मान्छे हिडेको आवाज आयो । उनलाई थारको बच्चाले के उपद्रो गर्छ भन्दै सुतिरहे । तर, बच्चाले प्या… गरेको आवाज आयो । नन्दकुमार उठे । उनी खोरमा झरे । खोरको ढोका खुलेको थाहा पाए । फेरि ओछ्यानमा गएर टर्च खोजेर हेर्दा खोरमा थिएन ।

उनलाई लाग्यो ! बच्चा स्याल वा चितुवाहरु केहीले लग्यो । नन्दकुमार र उनको श्रीमतीले खोजी गरे तर भेटिएन । नभेटेपछि नन्दकुमार छिमेकी उठाउन पुगे । छिमेकीसँग थारको बच्चा हराएको कुरा सुनाएपछि छिमेकीले कुकुर छाडिदिए ।

दुईजना भएर कुकुरको पिछा गर्दै जाँदा करीब १५ मिटर तल कुनामा घाँटीमा रगतपक्ष भएको पाठो भेटियो । दुवैजनालाई लाग्यो अवश्य कुनै जङ्गली जनवारको करामत परेछ ! उनीहरुले अब त्यसलाई त्यही छाडेर नहुने सबै गाउँका मान्छे, प्रहरी प्रशासनलाई समेत राखेर भोलि सर्जमिन मुचुल्का गरेर मात्र पाठाको लास व्यवस्थापन गर्ने सल्लाह गर्दै उनीहरुले पाठोलाई घरमा निकाले । त्यस रात यसैगरी सकियो ।

२२ गते बिहान नन्दले सबैतिर खबर गरे । उनीहरु भेला जम्मा भएर हेरे । एकजनाले शंका व्यक्त गरे यत्रो भइसकेको पाठो कसरी स्याल वा चितुवाले एकै चोटी यसो गर्न सक्छ हल्ला खल्ला हुनुपर्ने हो । यसपछि सबैले सशंकित महशुस गर्दै पाठो निकालेर हेरे । घाँटीमा धारिलो हतियार प्रयोग गरेर रेटिएको छ । सबै चकित परे ।

यसैबेला इलाका वन कार्यालयका फरेस्टार पुष्पराज राई नन्दकुमार तामाङको घर सोध्दै पुगे । उनले थार रहेको सुनेर आएको भने । उनलाई सबैले थारको बच्चा थियो तर, कसले राति नै यस्तो ग¥यो भनेर सुनाए । यसपछि केही क्षण शंका उपशंकाको वातावरणहरु उब्जियो ।

त्यहि वरिपरि रहेका स्थानहरुसमेत स्थलगत निरीक्षण शुरु भयो । घटना स्थलमा वडाअध्यक्षको रोहबरमा सर्जमिन गर्नुपर्ने भएकाले वडाअध्यक्ष शन्तवीर तामाङलाई बोलाइयो । उनी पनि आए । फोटोहरु खिचे । केही समयपछि प्रहरीसमेत पुग्यो ।

स्थलगत घटनाको प्रकृति मुचुल्का तयार भयो । तर, मुचुल्कामा देखिएको केही कुराहरु उल्लेख गरिएन । जस्तो घटना स्थलबाट जस्ले पाठालाई हतियार प्रयोग ग¥यो त्यो मान्छेको खुट्टामा लागेको रगतले टेक्दै बाहिर उतरतर्फ गएका पैतालाको चिन्ह थियो निकै परसम्म । त्यो उल्लेख भएन ।

पाठोलाई जसरी १५ मिटर तल मकैबारीमा फालिएको थियो । त्यो व्यक्तिले छाडेर भाग्दा चप्पल वा केही लगाएको पाइला छ । त्यस गह्राबाट अर्को गह्रामा हामफालेको खुट्टाको डोब राम्रै बसेको र घाँसहरु लतार्दै पूर्वतिर भोगको पाइएको थियो । यी कुराहरु सर्जमिनमा लेखिएन । यी कुराहरुले अनुसन्धानलाई फराकिलो बनाउन सक्ने आधार थिए ।

जसैतसै सर्जमिन भयो । रोहबरमा बसेर हस्ताक्षर गर्न वडाअध्यक्षले मानेनन् । प्रहरी आएपछि उनले आफूले हस्ताक्षर नगर्ने भने । टोलीले पाठाको लासलाई व्यवस्थापन गर्न भन्दै फर्कियो ।

नन्दकुमारलाई बयानका लागि जिल्ला वन कार्यालय दिक्तेल बोलाइयो । उनी वन कार्यालयमा हाजिर भएर आफ्ना बयान त दिएर गइसकेका छन् । तर, अहिलेसम्म पनि त्यो निर्दोष पशुको बच्चाको हत्या कसले ग¥यो खुल्न सकेको छैन ।

यी माथिका सबै घटना विवरणले सहजै ठम्याउन सकिन्छ । थारको बच्चा म¥यो कि कसैले मा¥यो ? अब मारेकै हो भने पशुका हत्यारालाई कानूनी कठघरामा ल्याउने काम सरकारको होइन र ? पशु अधिकार खोइ ?

तपाईको प्रतिक्रिया