सन्तोश पौडेल
साउन,२१ खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुक सहित एक पुरुषलाई पक्राउ गरेको छ । ऐसेलुखर्क गाउँपालिका -३ ऐसेलुखर्कस्थित झुलेका ५४ वर्षीय साङ्गे तामाङलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
प्रतिबन्धित भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षक राजेन्द्रप्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले तामाङलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले बताउनुभयो । प्रहरीले तामाङको घर खान तलासी गर्दा एक नाल भरुवा बन्दुक,२५० ग्राम बारुद,२५० ग्राम सोडा,२८ थान सिसाको छर्रा,३४ थान ढुङ्गाको छर्रा,४० थान कराईको टुक्रा छर्रा,१ बट्टा सलाई र ३ थान सिसा ब्याट्री समेत बरामद गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।
पक्राउ परेका तामाङलाई हातहतियार खरखजना सम्बन्धी मुद्दा दर्ता गरि अदालबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । हाल तामाङलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । प्रहरीले यहि साउन १२ गते भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई पक्राउ गरेको थियो ।


