खोटाङ, १९ साउन । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।
मूल्य अभिबृद्धि करसहित रु पाँच करोड ६० लाख दश हजार ५४५ मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु दुई करोड बजेटमा निर्माण सम्पन्न भएको ४० मिटर लामो पक्की पुल सुर्य एण्ड सन्स प्रा.लि.ले निर्माण गरेको हो ।
निर्माण कम्पनीले वि.सं. २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्नेगरी वि.सं. २०७६ जेठ १७ गते सम्झौता गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समयभन्दा अगाडि नै पुल निर्माणको काम सम्पन्न भएको हो ।
साप्सुखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्रकुमार राईले बताउनुभयो । “साप्सुखोलामा मोटरेबल पक्की पुल नहुँदा दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा प्राकृतिक नाकाबन्दीमा पर्ने गरेका थिए”, उहाँले भन्नुभयो, “लामो समयको अथक प्रयासपछि ढिलै भएपनि साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि आवतजावतमा सहज हुनुका साथै विकासको मुल ढोका खुलेको छ ।”
साप्सुखोलामा मोटरेबल पक्की पुल अभावमा वर्षादको समयमा करीब छ महिना यातायात सञ्चालन नहुँदा आवतजावतमा समस्या हुनुका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । लामो समयसम्म साप्सुखोलामा मोटरेबल पक्की पुल नहुँदा अवरुद्ध हुँदै आएको सडक खण्डमा मोटरेबल पक्की पुल बनेर सञ्चालनमा आएसँगै बाह्रै महिना उक्त सडक सञ्चालन हुने भएपछि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन् ।
विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थललाई सिधा सडक सञ्जालमा जोड्ने गरी निर्माण गरिएको साप्सुखोलाको मोटरेबल पक्की पुल बिममा तार घुसाएर तार तन्काएपछि तारमा लोड दिएर निर्माण गरिएको छ । साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल नयाँ प्रविधि प्रयोग गरेर जिल्लाकै नमूना बनाइएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद बरालले बताउनुभएको छ ।
तराईका जिल्ला जोड्ने सडक खण्ड अन्तरगत दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा योसँगै तीनवटा मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । सगरमाथा राजमार्ग अन्तरगत दिक्तेल–गाइघाट सडक खण्डमा पर्ने रेग्मिटारस्थित साप्सुखोलामा एक नं. तथा दिक्तेल र मात्तिम जोड्ने साप्सुखोलामा दुई नं. मोटरेबल पक्की पुल यसअघि नै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको थियो ।
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तह जोड्ने सडक खण्डका खोलाहरुमा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रको व्यापारिक केन्द्रमा पर्ने केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने तापखोलामा भर्खरैमात्र मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ ।
मध्यपहाडी लोकमार्ग बाहेक कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका अधिकांश सडक मोटरेबल पक्की पुल अभावमा वर्षादको सिजन शुरु भएलगत्तै करीब छ महिना अवरुद्ध हुने गरेको छ । सडक खण्डमा पर्ने खोलाहरुमा मोटरेबल पक्की पुल अभावकै कारण अवरुद्ध हुँदै आएको सबै सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जिल्लास्थित जनप्रतिनिधिहरुले पहल गरिरहेका छन् ।


