खोटाङ, १८ साउन । अघिल्लो सरकारले वृद्धि गरेको सार्वजनिक यातायातको नयाँ भाडा दर खोटाङमा पनि लागू गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी कर्मा ओली नेतृत्वको सरकारले गत असार २७ गते सार्वजनिक यातायातमा २८ प्रतिशतले वृद्धि गरेको नयाँ भाडा दर भोलि (मङ्गलबार)देखि लागू हुनेगरी खोटाङमा पनि कायम गरिएको हो ।
जिल्लामा सञ्चालित यातायातमा वृद्धि गरिएको नयाँ भाडा दर जिल्ला प्रशासन कार्यालय खोटाङलाई समेत जानकारी गराइएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । जिल्लामा सञ्चालित दश यातायात व्यवसायी कम्पनीले संयुक्त रुपमा सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जिल्लामा सञ्चालित सबै सडक खण्डमा नयाँ भाडा दर लागू गरिएको जनाएको छ ।
जिल्लाका यातायात व्यवसायीले वृद्धि गरेको नयाँ भाडा दर अनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि बसमा रु एक हजार ५३६ तथा जीपमा एक हजार ८५६ रहेको छ । यसअघि उक्त सडक खण्डमा यात्रा गर्ने यात्रुबाट बसमा रु एक हजार २०० र जीपमा रु एक हजार ४५० लिने गरिएको थियो ।
यस्तै दिक्तेल–ईटहरी तथा ईटहरी–दिक्तेलका लागि बसमा रु एक हजार ५३६ तथा जीपमा रु दुई हजार २०० कायम गरिएको छ । यसअघि उक्त सडक खण्डमा बसको रु एक हजार २०० र जीपमा रु एक हजार ७५० रहेको थियो ।
दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि बसमा रु एक हजार ५३६ तथा जीपमा रु दुई हजार २४० कायम गरिएको यातायात व्यवसायीले जनाएको छ । यसअघि बसमा रु एक हजार २०० तथा जीपमा रु एक हजार ७५० रहेको थियो ।
दिक्तेल–विराटनगर तथा विराटनगर–दित्तलेका लागि बसमा रु एक हजार ६०० तथा जीपका लागि रु दुई हजार ३०४ कायम गरिएको छ । यसअघि बसमा रु एक हजार २५० तथा जीपमा रु एक हजार ८०० रहेको थियो ।
दिक्तेल–काकरभिट्टा तथा काकरभिट्टा–दिक्तेलका लागि बसमा रु एक हजार ७२८ तथा जीपमा रु दुई हजार ३०४ कायम गरिएको छ । यसअघि बसमा रु एक हजार ३५० तथा जीपमा रु एक हजार ८०० रहेको थियो ।
दिक्तेल–गाईघाट तथा गाईघाट–दिक्तेलका लागि बसमा रु एक हजार २४ तथा जीपमा रु एक हजार ५३६ कायम गरिएको छ । यसअघि बसमा रु ८०० तथा जीपमा रु एक हजार २०० रहेको थियो ।
जिल्लाका ग्रामिण सडकमा समेत सोही अनुसार वृद्धि गरिने जीप व्यवसायी महासङ्घका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिनुभयो । जिल्लाका ग्रामिण सडकमध्ये अहिले मध्यपहाडी लोकमार्गमा पर्ने सडकमात्र सञ्चालनमा रहेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा सञ्चालित सार्वजनिक यातायातका सवारी धनीले यात्रुबाट मनपरी भाडा लिने गरेको गुनासोसमेत आएका छन् । कोरोना भाइरसको सङ्क्रमण तथा विभिन्न समस्या देखाउँदै यातायात व्यवसायीले आफूहरुसँग आफूखुशी भाडा लिने गरेको यात्रुहरुको भनाइ छ ।
यातायात व्यवसायीले यात्रुबाट मनपरी भाडा अशुलेको सर्वत्र गुनासो आएपछि जिल्ला ट्राफिक कार्यालयले चेकजाँचमा कडाइ गरेको छ । चेकजाँचका क्रममा ट्राफिक प्रहरीले गत असार–२२ गते बढी भाडा अशुलेर काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २१२९ नम्बरको बस तथा चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।


