खोटाङ, १८ साउन । ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै महुरे–राजापानी सडक खण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका छन् । भारत कन्ट्रक्सन÷सिद्धि शाही जेभीका ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्री लगायतको भुक्तानी नदिएको भन्दै कामदार तथा स्थानीय व्यवसायीले यहि साउन–२ गते निर्माण कम्पनीको ट्रक, टिफर र ट्याक्टरको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका हुन् ।
वि.सं. २०७६ सालमा ठेकेदार कम्पनीसँग गरिएको सम्झौता अनुसार निर्माण कम्पनीका ठेकेदारले आफूहरुलाई दिनुपर्ने रकम भुक्तानी नदिएपछि चाबी नियन्त्रणमा लिएर सडक निर्माणको काम रोक्नु परेको बुइपाका व्यवसायी मोहन श्रेष्ठले बताउनुभएको छ । “ठेकेदारले यसअघि गरेका सम्झौता अनुसार हामीलाई भुक्तानी दिएको छैन”, उहाँले भन्नुभयो, “ठेकेदारलाई फोन गर्दा फोन उठाउँदैन । हामीलाई ढाँटेको ढाँट्यै गरेपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र ठेकेदारलाई भनेरै निर्माण कम्पनीमा सञ्चालित सबै सवारी साधनको चाबी मागेर राखेका छौँ ।”
कामदार तथा स्थानीय व्यवसायीले ठेकेदारबाट रकम भुक्तानी नपाएपछि यसअघि २०७६ पुस २० गतेदेखि एक महिना र फागुन ८ गतेदेखि दुई दिन सडक निर्माणको सम्पूर्ण काम ठप्प बनाएका थिए । यसअघि गरिएको सम्झौता अनुसार ठेकेदार कम्पनीबाट माग पूरा नभएपछि कामदार तथा स्थानीय व्यवसायीले पुनः सोही माग राखेर सडक कालोपत्रको काममा अवरोध गरेका हुन् ।
स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण साउन २ गतेदेखि नै सडक निर्माणको सम्पूर्ण काम ठप्प बनेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाबी नियन्त्रणमा राखेको विषयमा दुबैपक्षबाट जानकारी नआएको बताउनुभएको छ ।
सडक कालोपत्रको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन । कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीबाट रु २८ लाख पाउन बाँकी रहेको बताएका छन् ।
महुरेमा रातदिन गिटी कुटेका दर्जनौँ महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन् । गिटी कुटेबापत ठेकेदार कम्पनीबाट प्रतिव्यक्ति कम्तिमा रु ३० हजार रकम भुक्तानी नपाएको स्थानीय एक महिला कामदारले गुनासो गरेकी छन् ।
निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धि शाही जेभीका सुपरभाइजर गणेशप्रसाद तिम्सिनाले भने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले दुई वर्ष यता बिल भुक्तानी नदिएकाले कामदार तथा व्यवसायीको बक्यौता रकम भुक्तानी दिन नसकिएको बताउनुभएको छ ।
पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक खण्ड झण्डै दुई वर्ष यता सडक कालोपत्रको काम सन्तोषजनक देखिन्न । कामदार तथा स्थानीय व्यवसायीले अवरुद्ध बनाएको पुनः काम शुरु गर्ने र बीचैमा रोक्ने क्रम पटक–पटक चल्दा सडक कालोपत्रको प्रगति नदेखिएको हो ।
सडक कालोपत्रको काममा ढिलासुस्ती गरेकामा भारत कन्ट्रक्सन÷सिद्धि शाहीबाट करीब रु साँढे छ करोड बैङ्क ग्यारेन्टी तानिसकिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । भारत कन्ट्रक्सन÷सिद्धि शाही जेभीले २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते रु ४१ करोड ५० लाख लागतमा महुरे–राजापानी (२२ किलोमिटर) सडक कालोपत्र गर्नेगरी योजनाको सम्झौता गरेको थियो ।
सम्झौता गरेको तीन वर्ष बितिसक्दा पनि महुरे–राजापानी सडक खण्डको भौतिक प्रगति ३५ प्रतिशत मात्र देखिएको स्थानीय बासिन्दा एवम् नेकपा एमालेका युवा नेता मिलन राईले बताउनुभयो । “सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको छ”, उहाँले भन्नुभयो, “भएका काम पनि गुणस्तहीन भएको र त्यहाँ कार्यरत कामदारले लामो समयसम्म भुक्तानी पाएका छैनन् । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
यस्तै, देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको हालसम्म करीब ५९ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । रु ५५ करोड ८७ लाख लागतमा २०७७ साउन १० गतेभित्र कालोपत्रको सम्पूर्ण काम पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते सो सडक खण्डको सम्झौता भएको थियो ।
कालोपत्र सम्पन्न गरेर चिल्ला सडक हुनुपर्नेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण हिलो र धुलो हुँदा यात्रा गर्नै सकस भएको यात्रुहरुले बताएका छन् । महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन भएको विषयमा जिल्लामा हुने कार्यक्रमहरुमा समेत आवाज उठ्ने गरेको छ ।


