काठमान्डौं । चीनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १ सयऔँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएका छन् ।
समारोहलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन् ।
बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताएका हुन् ।
सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले आफूहरुले शान्तिपूणर् सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग चीन नतर्सिने चेतावनी समेत दिएका हुन् ।
उहाँले भन्नुभयो, “जो कोहीले चीनलाई दबाउने दृष्टि राख्छ वा कोशिस गर्छ भने उसले अर्ब अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरु धुलोपिठो बन्नेछन् ।”
चीनको राष्ट्रपति समेत रहेका सीले आफुहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट पार्नुभएको छ ।उहाँका अनुसार, “चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।”
उक्त अवसरमा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उहाँले एक चीन नीतिमा प्रतिवद्ध रहँदै हङकङ र मकाओको विकास र प्रगति अघि बढाइने पनि बताउनुभयो । हङकङ र मकाओ चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै उनले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेप गर्न नदिने बताउनुभयो ।
चीनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीले मध्यमस्तरको समृद्ध राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पुरा भएको घोषणा गर्दै सीपीसीको १ सय वर्षको संघर्षमय प्रयास र पछिल्लो चार दशक यता सरकारद्वारा गरिएको अथक प्रयासका कारण चीनियाँ जनताले दुई हजार ५ सय वर्षदेखि साँचेको समृद्ध चीनको सपना साकार पार्न सफल भएको बताउनुभयो ।
चीनियाँ कम्यनिष्ट पार्टीको कुल सदस्य सङ्ख्या नौ करोड ५० लाखभन्दा बढी पुगेको छ । सयौँ बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विवरण अनुसार चीनियाँ कम्युनिष्ट पार्टीमा अहिलेसम्म नौ करोड ५१ लाख ४८ हजार चीनियाँ नागरिक आवद्ध भएका छन् ।
यो तथ्याङ्क यही जुन ५ तारिखसम्मको भएको चीनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागले जनाएको छ । सन् २०१९को अन्त्यसम्मको सदस्य सङ्ख्याभन्दा अहिले ३ दशमलव ५ प्रतिशतले सदस्य सङ्ख्या बृद्धि भएको संगठन विभागले जानकारी दिएको छ ।
विश्वकै प्रभावशाली पार्टीमध्ये मानिने चीनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१, जुलाई १ मा भएको थियो । सुरुमा ५० जना जति सदस्यबाट स्थापना भएको यो चीनियाँ कम्युनिष्ट पार्टी अहिले विश्वकै सवैभन्दा ठूलो सत्तारुढ कम्युनिष्ट पार्टीको रूपमा रहेको छ ।


