खोटाङ । आगामी तीन दिन सम्म दैनिकी नेपालमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्रको आसपास भारी वर्षा हुने छ । तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
मौषम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षा हुने साथै ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरोको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’ महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ ।
देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसोसम्म प्रदेश, १ प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


