दिक्तेल र हलेसीको मिडिया प्रेमी नीति तथा कार्यक्रम, पत्रकारको अनुहारमा छायो खुसी


खोटाङ, खोटाङको दुई नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएको छ । बिहीबार सम्पन्न नवौं नगरसभामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएका हुन् ।

दिक्तेलका नगरप्रमुख दिपनारायण रिजालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा पत्रकार महासंघ खोटाङ शाखाको भवन निर्माणका लागि संघ, प्रदेश सरकार र सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिने, पत्रकार महासंघ शाखाको व्यवस्थापनका लागि आवश्यक सहयोग गरिने, नगरपालिकाबाट प्रकाशन हुने विज्ञापन तथा सूचनाहरुका लागि नगर र जिल्ला भित्र रहेका एजेन्सीहरुलाई प्राथमिकता दिईने, स्थानीय छापा तथा विधुतीय संञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापनहरु उपलब्ध गराउने जनाईएको छ ।

यस्तै, जिल्लामा क्रियाशिल मिडिया हाउसहरुको प्रवद्र्धन गर्दै लगिने, पत्रकारहरुको क्षमता विकासका लागि पत्रकारिता तालिमका लागि आवश्यक सहयोग गरिने, नगरपालिकाको अनुगमन टोलीमा पत्रकारहरु समेत सम्मिलित गराई अनुगमन गरिने र ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रमलाई थप प्रभावकारी हुने गरी निरन्तरता दिईने नगरप्रमुख रिजालले बताए ।

यस्तै, हलेसीले स्थानीय तथा जिल्लाबाट प्रकाशित छापा तथा विधुतीय पत्रिकाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने, नगरपालिकाबाट प्रकाशित विज्ञापन तथा सूचना नगरपालिका र जिल्ला भित्रकै ऐजेन्सीलाई प्राथमिकता दिईने, ‘राम्रो हलेसी हाम्रो हलेसी’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने र पत्रकार महासंघ खोटाङको समन्वयमा स्थानीय स्तरमा पत्रकारिता तालिम सञ्चालन गरिने नगरप्रमुख ईवन राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।

दुई नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएको भन्दै सामाजिक सञ्जालबाट यसको स्वागत र सम्बन्धित पक्षवाट चौतर्फी प्रशंसा भईरहेको छ ।

तपाईको प्रतिक्रिया