खोटाङ, ११ असार : सोह्र वर्षीया किशोरीलाई जङ्लमा बोलाएर जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । बुधबार राति किशोरीलाई उनकै घर नजिकैको जङ्गलमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ गरेका हुन् ।
पीडित भनिएकी किशोरीले आफूमाथि आरोपित राईले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो । पीडित भनिएकी किशोरीले बिहीबार प्रहरीमा उजुरी दिएलगत्तै पक्राउ गरिएका युवकमाथि जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान शुरु गरिएको जनाइएको छ ।
किशोरीले बिहीबार दिउसो उजरी दिएपछि खोजतलास गर्नेक्रममा पीडक भनिएका राईलाई बिहीबार बेलुकी नै दिक्तेल बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईविरुद्ध परेको उजुरीमा अनुसन्धान गर्न म्याद थपका लागि शुक्रबार जिल्ला अदालत पठाउने तयारी गरिएको प्रवक्ता गजमेरले जानकारी दिनुभयो ।
पीडित भनिएकी किशोरीको बिहीबार नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर आफन्को जिम्मा लगाइएको प्रहरी प्रवक्ता गजमेरले बताउनुभयो । बलात्कृत भनिएकी किशोरीको अवस्था सामान्य रहेको जनाइएको छ ।
पछिल्लो समय जिल्लामा हुने अधिकांश बलात्कारका घटना अरु कसैले थाहा पाएपछि सार्वजनिक हुने गरेको स्रोतको दाबी छ । दुवैजनाको सहमतिमा हुने यौन सम्पर्क कोहीकसैले देखेपछि महिलाले पुरुषलाई फसाउन आफूमाथि जबरजस्ती बलात्कार भएको भन्दै उजुरी दिने गरेको जनाइएको छ ।
यतिसम्म कि ! कुनै महिलाको कसै पुरुषसँग सिरिइबी भएमा पुरुषलाई फसाउन महिलाले आफूमाथि अनैतिक व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिने गरेका छन् । उक्त घटना प्रहरीमा पुगेपछि दुई पक्षबीच छलफल गराउँदा व्यक्तिगत रिसिइबी ठहरिने गरेको कानून व्यवसायीहरुले बताएका छन् ।


