खोटाङ, एमालेका मुख्य सचेतक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई हस्तान्तरण गर्नु भएको छ । गृह जिल्लाका लागि स्वास्थ्य मन्त्रालय मार्फत मास्कस, अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री मुख्य सचेतक भट्टराईले बुधवार स्वास्थ्य कार्यालय खोटाङका निमित्त प्रमुख छवि आचार्यलाई हस्तान्तरण गर्नु भएको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरबाट पहल गरि ल्याएको २ लाख २२ हजार १८७ रुपैयाँको १० थान इन्फ्रारेड थर्मोमिटर, १० थान पल्स अक्सिमिटर स्पट चेक, २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिजन सिलिण्डर र सानो साईजको ५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको हो । यस्तै, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट १ लाख ५५ हजार ५१५ रुपैयाँको दुई सय सेट एन्टीजेन किट र एक हजार आठ सय पिस भिटिएम ल्याइएको सचेतक भट्टराईले बताउन भयो ।
स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य सेवा विभागबाट २२ हजार १३१ रुपैयाँ बराबरको २ हजार थान सर्जिकल मास्क, एक सय थान गाउन, एक सय थान एम ९५ मास्क, पाँच सय एमएलको १० बोत्तल सेनीटाइजर र एक सय जोर पञ्जा समेत हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मुख्य सचेतक भट्टराईले अबको केही दिनमा अझ धेरै सामाग्री ल्याउने प्रतिबद्धता जनाउनु भएको छ ।
अहिले हामी संकटमा छौ मुख्य सचेतक भट्टराईले भन्नु भयो, संकटको बेला कोहि नआती शुरक्षित घरमा बसौ आबस्यक परे सरकार छ सहयोग गर्छ । संकटको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर जिल्लाका लागि स्वास्थ्य सामग्री ल्याउन पहल गरेको भन्दै सामाजिक सञ्जालमा प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य भट्टराईको प्रशंसा भइरहेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, एमालेका नेता कुमार आचार्य, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।


