खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएकी छन् ।
उपप्रमुख राईले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा १ झ ६४२४ नम्बरका गाडी बिरामी बोक्नका लागि सोमवार स्वास्थ्य शाखालाई जिम्मा दिएकी हुन् ।
नगरपालिकामा एम्बुलेन्स नभएकाले बिरामीलाई घरबाट नगरापालिकाले निर्माण गरेको आइसोलेसन वेडमा उपचारका लागि लैजान र त्यहाँ उपचार हुन नसकेर रेफर भएका बिरामीलाई अस्पतालसम्म पु¥याउन र ल्याउनका लागि प्रयोग गर्न आफू चढ्ने गाडी दिएको उपप्रमुख राईले बताइन् ।
बिरामीका लागि प्रयोग नभएका समयमा घर समुदाय र स्वास्थ सन्देश प्रचार प्रसार र स्वास्थ्य संस्थामा औषधी उपकरण ओसार पसारमा उपयोग गरिने नगरपालिकाले जनाएको छ ।
यो संकटको घडीमा आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने उपप्रमुख राईले बताइन् ।


