कोरोनाबाट जोगाउन घर ल्याइएका बालकको करेन्ट लागेर मृत्यु

Halesi Khabar

खोटाङ, २२ वैशाख । ठूली आमा (आमाको दिदी)को घर जाँदै गरेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका दश वर्षीय बालक टिकीहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ । धितुङकै कात्तिकेमा रहेको ठूली आमा प्यारी राई (लिम्बू)को घर जानेक्रममा दश वर्षीय बालक टिकीहाङको बुधबार भँगेरी जङ्गलमा करेन्ट लागेर मृत्यु भएको हो ।

थ्री फेजको केन्द्रीय प्रशारण लाईनको विद्युतको तारले पोललाई छोएपछि पोलमा प्रवाह भएको करेन्ट लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जानकारी आएको त्रितुङका वडाध्यक्ष पृथ्वीराज राईले बताउनुभयो । “मामाको छोरा र फुपूको छोरा मिलेर दुई भाइ हिँड्दै थिएछन् । बीच बाटोमा पर्ने जङ्गलमा पुगेपछि एक जनालाई करेन्ट लागेछ । एउटालाई करेन्ट लागेपछि अर्को जनाले परिवारलाई खबर गरेछन्”, उहाँले भन्नुभयो, “विद्युतको तार अड्याउन विद्युतको पोलमा राखिएको माटी फुटेपछि तारले पोललाई छुँदा विद्युत जथाभावी छरिएको रहेछ । गएराति गाउँलेले सो स्थानमा आगो बलेको देखेका रहेछन् । तर, मोटरबाईकको लाईट बालिएको आशंका गरेछन् । घटनापछि मात्र विद्युतको पोलमा विद्युत सर्ट भएको थाहा भयो ।”

टिकीहाङलाई करेन्ट लाग्नासाथ उनीसँगै रहेका अर्का १३ वर्षी बालक (मामाको छोरा)ले परिवारलाई खबर गरेपछि हेर्न जाँदा उनको मृत्यु भइसकेको अवस्थामा फेला पारिएको पारिवारिक स्रोतले जनाएको छ । करेन्ट लागेर बालकको मृत्यु भएपछि उनको शव परीक्षण गर्न बुधबार नै जिल्ला अस्पताल दिक्तेल पठाइएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिनुभयो ।

दुई सन्तानका बुबा लोकेन्द्र राईको कान्छा छोरा टिकीहाङ धितुङस्थित बुलापन्थे माविको कक्षा–४ मा अध्ययनरत विद्यार्थी थिए । सानै उमेरदेखि काठमाडौँमा अध्ययनरत उनी गत वर्ष फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दीमा गाउँ आएर बुलापन्थे माविमा भर्ना भएका थिए ।

राजधानी काठमाडौँमा अध्ययनरत छोरालाई कोरोना कहरका कारण गाउँ ल्याएर विद्यालय भर्ना गरिएको वर्ष दिन नपुग्दै करेन्ट लागेर मृत्यु भएपछि राई दम्पतीमा पीडा थपिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सुविधा सम्पन्न ठाउँ काठमाडौँबाट घर ल्याएर विद्यालय भर्ना गरिएका छोराको करेन्ट लागेर गाउँमै मृत्यु भएपछि राई दम्पतीलाई पीडा परेको हो ।

धितुङमा सर्ट भएको विद्युत मर्मत गर्न प्राधिकरणबाट टोली परिचालन गरिएको विद्युत प्राधिकरण खोटाङका प्रमुख ललितनारायण चौधरीले बताउनुभयो । “गएरातिको हावाहुरी र चट्याङका कारण धितुङमा विद्युत सर्ट भएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “हावाहुरीका कारण सर्ट भएको विद्युतले दुःखद घटना हुन पुग्यो । उक्त स्थानमा भएको अवरुद्ध विद्युत मर्मत गर्न घटनास्थलमा दिक्तेलस्थित प्राधिकरणको कर्मचारीको टोली पठाइएको छ । अवरुद्ध भएको स्थान तथा आसपासका क्षेत्रमा रहेको विद्युतको पोल मर्मत गरेर बेलुकासम्म सञ्चालनमा ल्याइनेछ ।”

दश स्थानीय तह रहेको जिल्लामा हावाहुरी चल्नासाथ विद्युत अवरुद्ध हुने गरेको छ । लामो दूरी तथा प्रशारण लाईन रहेको स्थानमा घना जङ्गल भएका कारण हावाहुरी चल्नासाथ विद्युत अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ ।

एघार केभी प्रशारण लाईन क्षमताको विद्युत पोल तथा तारमा ३३ केभी बिस्तार गरिएको जिल्लामा करेन्ट लागेर दर्जन बढीको मृत्यु भइसकेको छ । कम क्षमताको पोल तथा तार भएकै कारण पटक–पटक अवरुद्ध हुने विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर उत्तिकै सङ्ख्यामा अङ्गभङ्ग भएका छन् ।

 

तपाईको प्रतिक्रिया