खोटाङ, ९ वैशाख । प्रेस सङ्गठन नेपाल खोटाङको अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । खोटाङको दिक्तेल बजारस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बिहीबार सम्पन्न सङ्गठनको पाँचौँ जिल्ला भेलाले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
पच्चीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा अशल चरित्र, सचिवमा सविना परियार, सहसचिवमा कोशीकुमार राई र कोषाध्यक्षमा प्रमिला परियार चयन हुनुभएको छ । समितिको सल्लाहकारमा उजुर राई, डम्बरसिं राई, भीम राई, सुर्य तामाङ र गंगाबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीयको प्रतिनिधित्व हुनेगरी एउटा स्थानीय तहका दुई जना पत्रकारलाई सङ्गठनको जिल्ला कार्यसमितिमा राखिएका छन् । जिल्लाका हरेक स्थानीय तहका गतिविधि सञ्चारमाध्यममा ल्याउने उद्देश्यले एउटा स्थानीय तहबाट कम्तिमा दुई जना पत्रकारलाई प्रेस सङ्गठनमा सङ्गठित गरिएको सल्लाहकार डम्बरसिं राईले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष राई यसअघि सङ्गठनको जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो । हाम्रो खोटाङ डटकमका प्रधान सम्पाक रहनुभएका नवनिर्वाचित अध्यक्ष राई नेपाल टेलिभिजन, नेपाल समाचारपत्र, बिएफबिएस गोर्खा रेडियो लगायत विभिन्न सञ्चालन माध्यममा आवद्ध हुनुहुन्छ ।
नवनिर्वाचित पदाधिकारीलाई सङ्गठनका केन्द्रीय सदस्य भीम राईले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष राईले सङ्गठनको नीति तथा निर्देशन पालन गर्दै जिल्लामा क्रियाशील पत्रकारको पेशागत हकहित एवम् व्यवसायिक पत्रकारिताको विकासमा डटेर लागीपर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

जिल्ला भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, जिल्ला सचिवालय सदस्य होमकाजी आचार्य ‘विनोद’, सदस्यहरु बम बानियाँ, लक्ष्मीकुमार राई लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले नवनिर्वाचित पदाधिकारीलाई कार्य सफलताको शुभकामना दिँदै पत्रकारको व्यवसायिक धर्ममा रहेर जिल्लामा हुने गरेका भ्रष्टचार एवम् विकृति÷विसङ्गतिका विरुद्ध डटेर कलम चलाउन आग्रह गरेका छन् ।

यसैबीच, प्रेस सङ्गठन नेपालका निवर्तमान जिल्ला अध्यक्ष सुर्य तामाङले नवनिर्वाचित पदाधिकारीलाई बिहीबार नै शुभकामना दिनुहुँदै आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । नेपाल वाईड डटकमका सम्पादक तामाङले सङ्गठनको चार कार्यकाल नेतृत्व गर्नुभएको जिल्ला अध्यक्षको जिम्मेवारी राईलाई हस्तान्तरण गर्नुभएको हो ।


