खोटाङ, ८ वैशाख । विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा कोरोना कहरकाबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा पारेर १५ दिन मेला लाग्ने गरेको छ ।
विश्वभर कोरोना भाइरसको महामारी फैलिएपनि हलेसीमा लागेको मेलामा बिना स्वास्थ्य मापदण्ड भक्तजन तथा दर्शनाथीको भीड लागेको छ । हप्ता दिनअघि शुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरिया लगायतका राष्ट्रबाट आएका हजारौं दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो ।
कोरोना कहरकै कारण गत वर्ष चैत ८ गतेबाट बन्द गरिएको हलेसी मन्दिर खुला गरिएसँगै यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपलेसमेत विश्वप्रसिद्ध त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका होटल तथा रेष्टुरेन्टहरु रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले भरिभराउ भएका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर मङिसरमा खुला गरिएको थियो । पूजाआजा गर्न आउने भक्तजनको पूजापाठ नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि खुला गरिएको हो ।
अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ । राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गमै हलेसी पर्ने तथा उक्त सडक खण्ड कालोपत्र गरिएका कारण पनि अधिकांश दर्शनार्थी तथा भक्तजन आफैले सवारीसाधन लिएर हलेसी आउने गरेका हुन् ।
कोरोना कहरकाबीच हलेसीमा लाग्ने मेला अवधिभर स्वास्थ्य मापदण्ड पालना गराउन तथा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “विश्वभर फैलिएको कोरोना भाइरस जिल्लामा पनि फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर मेला तथा पूजाआज गर्ने स्थानमा हुने भीडभाडलाई सुरक्षाकर्मी व्यवस्थित गरिरहेका छन् ।”
त्रिधार्मिक धाम हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धार जस्ता विभिन्न द्धारहरू रहेका छन् ।
प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करीब ५० मिटर भित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।
हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा मोटरेबल पक्की पुल बनेसँगै तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेर जडान गरिएको हो ।
यसैबीच, रामनवमीको अवसरमा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलहरु बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट लगायतमा समेत ठूलो मेला लागेको छ । त्रिधार्मिक धाम हलेसी बाहेक अन्य ठाउँमा एक दिनमात्र मेला लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।


