खोटाङ, २७ चैत । जिल्ला प्रहरी कार्यालय खोटाङमा स्थापना गरिएको पुस्तकालयलाई पत्रकार हरिवोल आचार्य र अधिवक्ता ओमप्रकाश घिमिरेले निःशुल्क पुस्तक सहयोग गर्नुभएको छ । हिरासत पुस्तकालय नाम दिइएको पुस्तकालयका लागि पत्रकार आचार्य र अधिवक्त घिमिरेले शुक्रबार कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियालाई छुट्टाछुट्टै समयमा पुस्तक सहयोग गर्नुभएको हो ।
भखैरै स्थापना गरिएको पुस्तकालयका लागि पत्रकार आचार्यले द्रौपदी, रक्तबीज, बागीनी, नम्रता, अफेयर, भूमिसूक्त, करिया, पृथ्वीनारायण शाह, फेल हुने केटो, मर्फिन लगायतका रु पाँच हजार मुल्य बराबरको १९ थान तथा अधिवक्ता घिमिरेले सम्बन्धहरु, वर्तमान, सेतो धरती, जात वार्ता, फिरफिरे, नयाँ सडकको गीत, पानीको घाम, करोडौँ कस्तुरी, उल्झन लगायतका एक दर्जन पुस्तक सहयोग गर्नुभएको छ । पुस्तक सहयोग गर्ने दाताहरुको नाम र ठेगाना पुस्तकमा लेखिने र भविष्यमा पुस्तकालयका लागि पुस्तक सहयोग गर्नेहरुको नामावली बनाएर होडिङवोर्ड राखिने प्रहरीले जनाएको छ ।
हिरासतमा रहेकाहरु पुस्तक पढेर नयाँ ज्ञान आर्जन गर्नुका साथै अपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत रहोस भनेर पुस्तक सहयोग गरिएको पत्रकार आचार्यले बताउनुभयो । “शिक्षा अभावकै कारण अधिकांश मानिसले अपराधिक क्रियाकलाप गरेको पाइन्छ”, हलेसी न्यूज नेटवर्क प्रा.लि.का अध्यक्षसमेत रहनुभएका पत्रकार आचार्यले भन्नुभयो, “अपराधिक क्रियाकलापमा सङ्लग्न भएर पक्राउ परेकाहरु पनि हिरासतमा रहेको समयमा पुस्तक अध्ययन गरेर सचेत बनोस भन्ने उद्देश्यले पुस्तक सहयोग रिएको हो ।”
जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको पुस्तकालयमा राजनीतिक बाहेक नेपालको संविधान, कानून तथा मुलुकी संहिता, साहित्य, कला, उपन्यास, निवन्ध लगायत विभिन्न विद्याका पुस्तक राखिने प्रनाउ चिमरियाले बताउनुभयो । “प्रहरी कार्यालयमा पुस्तकालय स्थापनाका लागि केन्द्रबाट छुट्टै बजेट त आएको छैन”, उहाँले भन्नुभयो, “तर, हिरासतमा बसेका थुनुवाहरुलाई समय कटाउने व्यवस्था तथा अपराधिक क्रियाकलापमा संलग्न हुने भोग्नुपर्ने सजाय लगायत कानूनी प्रावधानहरुको विषयमा जानकारी दिने उद्देश्यले दाताकै सहयोगमा पुस्तकालय स्थापना गरिएको हो ।”
प्रहरी कार्यालयमा स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउन जिल्लास्थित विभिन्न सङ्घसंस्थासमेतले तयारी गरिरहेको छ । प्रहरीले कार्यालयमै पुस्तकालय स्थापना गरेर हिरासतमा रहेका व्यक्तिका लागि निःशुल्क पढ्न पाउने व्यवस्था मिलाएपछि थुनुवाहरुको समय कटाउने बहाना बनेको छ ।
हिरासतमा पुस्तक अध्ययन गर्ने बानी परेका व्यक्ति हिरासतमुक्त भएपछिसमेत अध्ययनमा सहभागी भएको पाइएको छ । कैंदीबन्दीका लागि करीब तीन वर्षअघि जिल्ला कारागार खोटाङमा समेत पुस्तकालय स्थापना गरिएको थियो ।
कारागारमा स्थापना गरिएको पुस्तकालयलाई समेत जिल्लाबासी तथा विभिन्न सङ्घसंस्थाले निःशुल्क पुस्तक उपलब्ध गराइरहेका छन् । कारागारमा रहेका कैंदीबन्दीको ज्ञान र चेतना अभिबृद्धिका लागि पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।


