डढेलो गाउँमा पस्दा चारवटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट

Halesi Khabar

खोटाङ, ११ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चारवटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो आज (बुधबार) अपरान्ह गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो ।

स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरुको घर जलेर नष्ट भएको स्थानीय सागर खनालले बताउनुभएको छ । खनालका अनुसार आठ वर्षअघि जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर गुमाएका ढकाल परिवारले पुनः निर्माण गरेका घर पुनः यस वर्ष सामुदायिक वनबाट गाउँ पसेको डढेलोले जलेर नष्ट बनाएको हो ।

सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भइ गाउँ पस्दा सहकारी संस्थाबाट रु एक लाख ७० हजार अनुदान लिएर बनाएको आगलागी पीडित भुजेलको बाख्रा फार्मसमेत खरानी भएको जनाइएको छ । आगलागी पीडित भुजेलको घरमा भने वर्षायाममा मात्र बस्ने गरिएको थियो ।

डढेलो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्राकृतिक प्रकोप समितिका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिनुभयो । साँझपख घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले अहिले पनि डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

डढेलो नियन्त्रणमा चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका स्थानीय किसन भुजेलले जानकारी दिनुभएको छ । डढेलोले ३ घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीतिरबाट तीन दिनअघि शुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको जनाइएको छ । डढेलोबाट घर जोगाउन कतिपय स्थानीय बासिन्दाले आ–आफ्नो घरको छानामा पानी छ्यापेर बसिरहेका छन् ।

आगोबाट घर जोगाउन छानामा पानी छ्याप्ने क्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाइतेसमेत भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभएको छ । विश्वकर्माको देब्रे हात भाँचिएको र एम्बुलेन्समा राखेर उपचारका लागि स्वास्थ्य संस्था पठाइएको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो ।

डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको स्थानीय बासिन्दाले बताएका छन् । सामुदायिक वनमा डढेलो लाग्नुको कारण पत्ता लागेको छैन ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने विजयखर्क र राजापानीका सामुदायिक वनमा वर्षेनी आगलागी हुँदै आएको छ । सामुदायिक वनमा लाग्ने डढेलो कतिपय स्थानीय बासिन्दाले जानाजान लगाउने गरेको पाइएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया