साकेलाको खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै

Halesi Khabar

खोटाङ, ११ चैत । साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दाले सामुहिकरुपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रको रुपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ तावाहाङ रेन्बो ट्राउट कृषक समूहमा आवद्ध किसानले रेन्बो ट्राउटको व्यवसायिक पालन शुरु गरेका हुन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकार अन्तरगतको मत्स्र्य विकास निर्देशनालयको रु २५ लाख, वडा कार्यालयको रु पाँच लाख, गाउँपालिकाको रु चार लाख र तावाहाङ रेन्बो ट्राउट कृषक समूहको रु १६ लाख १० हजार लगानीमा खिदिमाको मखमलेमा व्यवसायिक रेन्बो ट्राउट पालन शुरु गरिएको जनाइएको छ । रेन्बो ट्राउट पालनका लागि १९ वटा (रेस–वे) पोखरी र फिल्टर ट्याङ्की निर्माण गरेर पहिलो चरणमा दश हजार भुरा हालिएको लगानीकर्ता निशन राईले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रुपमा विकास गर्दै कृषि पर्यटनको विकासका लागि रेन्बो ट्राउट पालन शुरु गरिएको कृषक समूहले जनाएको छ । रेन्बो ट्राउट पालन गर्न इच्छुक स्थानीय किसानलाई सोसँग सम्बन्धित तालिम तथा दाना पनि उपलब्ध गराइने कृषक समूहले जनाएको छ ।

नेपाल रेन्बो ट्राउट फिस फर्म ललितपुरबाट रेम्बो ट्राउटको दश हजार भुरा ल्याएर पोखरीमा हालिएको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताउनुभयो । आगामी दिनमा रेन्बो ट्राउटको स्रोत केन्द्र बनाउने उद्देश्य राखिएको उक्त ठाउँमा स्थानीय डिलबहादुर राईको जग्गा खरिदसमेत गरिएको छ ।

रेन्बो ट्राउट पालनका लागि स्थानीय रामकृष्ण राईको संयोजकत्वमा सात सदस्यीय सञ्चालक समिति बनेको छ । सोही समितिको समन्वयमा गाउँका अन्य स्थानीय बासिन्दाले रेन्बो ट्राउट पालनमा शेयर लगानी गरेका छन् ।

नगद लगानी गर्न नसक्ने किसानले श्रम गरेर शेयर लगानी कायम गरेका छन् । आगामी दिनमा होमस्टे (घरबास)समेत सञ्चालन गर्ने लक्ष्यसहित स्थापना गरिएको रेन्बो ट्राउट फर्मका लागि आवश्यक रकम स्थानीय तथा प्रदेश सरकारले समेत लगानी गरेपछि कृषकहरु उत्साहित भएका छन् ।

पर्यटकीयस्थल तावाभञ्ज्याङ नजिकै रहेकाले रेन्बो ट्राउट फर्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “गाउँपालिकाले कृषि पर्यटनलाई जोड दिएको छ”, उहाँले भन्नुभयो, “तावाभञ्ज्याङ आफैमा पर्यटकीयस्थल भएकाले रेन्बो ट्राउट फर्म सञ्चालन भएपछि थप प्रर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।”

प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको तावा भञ्ज्याङमा प्रदेश सरकार र गाउँपालिकाको आर्थिक लगानीमा कृतिम ताल निर्माणको लागि प्रारम्भिक अध्ययन गरिएको छ । प्रदेश नं. १ कै सबैभन्दा ठूलो कृतिम ताल निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदेश सरकारले व्यहोर्ने जनाइएको छ ।

साँढे ६०० मिटर लम्बाई र ५०० चौडाई रहनेगरी निर्माण गर्न लागिएको तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने तालका लागि आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट प्रक्रियामा लैजाने योजना बनाइएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिनुभयो ।

ताल निर्माणपछि तावा भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन हुने गाउँपालिकाको अपेक्षा रहेको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको पर्यटकीयस्थल तावा भञ्ज्याङ प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्न समेत सकिने ठाउँमा पर्दछ ।

ताल निर्माणपछि टेम्के, मैँयू लगायत प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न यसले मद्दत गर्ने गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । तावा भञ्ज्याङभन्दा माथिल्लो भेगमा रहेको मुहान थुनेर निर्माण गरिने ताललाई नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलसँगसमेत जोड्ने योजना बनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया