काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्थाका कारण देश र जनता गरिब भएका बताएका छन् ।
शुक्रबार उद्योगी व्यवसायहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनतालाई विकासमा मार्गदर्शन गर्न नसक्नु तथा सही नीति निर्धारण गरेर त्यो बाटोमा अघि बढ्न नसक्नुले देश गरिब भएको बताए ।
उनले भने, “हामी देश विकास गर्न चाहन्छौं । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा गरिब छ । शासकीय अव्यवस्था र जनतालाई विकासमा सरकारले मार्गदर्शन गर्न नसक्नु, सही नीति निर्धारण गरेर त्यस बाटोमा अघि बढ्न नसक्नु ।”
त्यस्तै, उनले नीतिगत व्यवस्था बन्न नसक्दा विकासको गति समात्न नसकेको बताए । मुलुकमा पुर्वाधार विकासका पक्षमा उल्लेख्य काम भएको भन्दै इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको बताए ।
त्यस्तै, उनले व्यवसायीहरुलाई वस्तुगत रुपमा कुन धाराको कुन दफासहित सुधार गर्नुपर्ने विषयहरु लिखित रुपमै सरकारलाई सुझाव दिन आग्रह गरे ।
उद्योग व्यवसायीहरुको सबै समस्या समाधानका लागि सरकार तयार रहेको बताउँदै विदेशी आयात मात्रै नभइ स्वदेशमै उत्पादनमा ध्यान दिन पनि उनले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले “कोही पनि पछाडि छोडिनु हुदैन, पछाडि पर्नु/पारिनु हुँदैन” भन्ने भनाईलाई सार्थक रुपमा अगाडि बढाउने बताए । उनले अटोमोबाइल्सका समस्याको कुरा भन्दा पनि नेपालमै अटोमोबाइल्स खोल्ने योजनामा लाग्न उद्योगीलाई सुझाव दिए । त्यसैगरी रोजगारी दिने खालका इन्ड्रष्ट्रिज खोल्न पनि उहाँले उद्योग व्यवसायीलाई आग्रह गरे ।
उनले भने “अटोमोबाइल्स यही खोल्नुभयो भने तपाईहरुले सोचेको भन्दा बढी सुविधा दिन्छौ । खोल्नुहोस् र एउटा अटोमोबाइल्स । के सुधार गर्नुपर्यो ? कसैले अध्यादेश ल्याउनै हुदैन भन्यो भने पनि जरुरी पर्यो भने अध्यादेश ल्याउँछ सरकारले । ६ महिना संसद श्रद्धाञ्जली दिदै उठ्दै गर्दा अनि हामीले अत्यावश्यक कुरामा ….यस्तो कुराहरुमा बिलम्ब गर्न सक्तैनौँ ।”
प्रधानमन्त्री ओलीले अत्यावश्यक कच्चा पदार्थ बाहिरबाट ल्याएर उद्योगधन्दा भने स्वदेशमै सञ्चालन गर्न सुझाव दिए । उनले भने, “आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । म पनि चामल किनेर खान्छु, म व्यापारी भएँ ? किनेर गर्ने व्यापार खास व्यापार होइन ।”
पेट्रोलियम इन्धनबाट सञ्चालित सबै गाडी २० बर्ष पछि विस्थापित गरिने भएकाले अहिले देखि नै इलेक्ट्रिक भेईकलको उद्योग खोल्न पनि उनले सुझाव दिए ।
उनले भने, “इलेक्ट्रिक भेईकलको उद्योग खोल्नुहोस् न अहिलेदेखि नै । पार्टीको घोषणापत्रमा उल्लेख भएका विषयहरु बिर्सेको छैन । मेरो घोषणापत्र र मेरा कामहरु सम्झना छ । ढुंगा टिपेर हानिदियो जहाँ झर्यो त्यसैलाई ताकेकै त्यही हो भन्दैनौ । हामी टार्गेट बनाएर हिडेँका छौ ।”
त्यस्तै, उनले माग जति विद्युत पुर्याउन नसकेको बताउँदै पहिलदेखि बिग्रेको व्यवस्था बनाउन लागेको पनि बताए ।
त्यस्तै, उनले आफू लगायत सरकारका मन्त्रीहरु व्यवसायीहरुको समस्या सुन्न मात्रै नभएर त्यसको समाधान र कार्यान्वयनका लागि अघि बढ्ने बताए । उनले भने, “सुनेर पारित गर्ने हो र ? सुनेर पाप कट्छ भनेर होइन काम गर्न र अवस्थामा परिर्वतन ल्याउनका लागि बसेको हो ।
नीजि क्षेत्रको समस्या नसुन्ने, त्यत्तिसम्म नि होइन यो सरकार ।”
उनले भने, “खाडीमा मान्छेहरु अहिलेको सरकारले पुराएको हो र ? द्धन्द्धका कारण पुगेको हो नि ।” कार्यक्रममा उद्योग व्यवसायीले आ आफ्नो क्षेत्रको समस्या र सरकारले गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाएका थिए ।
केही उद्योगीले चुनावको बेलामा घोषणापत्रमा समावेश गरेका कुरालाई सत्तामा पुगेपछि विर्सने गरिएको भन्दै व्यवसायीलाई ससम्मान व्यवसाय गर्ने वातावरण श्रृजना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


