३३ कोटी देवीदेवता भेटिने बुङालुङ (रक गार्डेन) अर्थात ढुङ्गे बगैँचा

Halesi Khabar

–भीम राई
अलि पर होलेसुङ राजाको दरबार रहेको डाँडा । चाम्लिङ पूर्खाहरुको विरासत रहेको किराँती बस्ती । त्यही रहेछ बुङालुङ अर्थात ढुङ्गे बगैँचा (रक गार्डेन) । खोटाङ जिल्लाको पत्रकारको टोलीले संयोगबस बुङालुङको अवलोकन गर्ने अवसर मिल्यो । बाहाना थियो नेपाली काँग्रेसका नेता शेखर कोइरालाको हलेसीमा भएको पत्रकार सम्मेलन ।

यसको मेसो मिलाएका थिए प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईले । पत्रकारको टोली हलेसी पुगेपछि समयको भरपुर सदुपयोग त गर्नै पर्छ भन्ने मान्यता सबैले राखेकै थियौँ । होटल हलेसी भिलेजको खाना खाँदाखाँदै बनेको योजना थियो रक गार्डेन अर्थात बुङालुङ हेर्न जाने । छोटो मिठो सल्लाहमा दाजै पत्रकार कृष्ण आचार्यले नै सहमती दिएपछि अरुले नाइ भन्ने अवसर नै कहाँ हुन्छ र ?

सबैको साझा निर्णय ढुङ्गे बँगैचा हेर्न जानेमै पक्का भएपछि त्यहि ठाउँको प्रर्वद्धनमा लागी परेका हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईलाई छुटाउने कुरै भएन । होटलबाटै चौलागाईजीले प्रमुख राईलाई खबर गर्नुभयो ।

नगरप्रमुख इवन राईको सकरात्मक प्रतिकृयापछि टोली आफ्नो सामा सर्दाम सहित हुँईकिन्छ बुङालुङ (रक गार्डेन) तर्फ । अघिपछि गर्दै बुङालुङ पुगेपछि सबैको मन फुरुङ । जता ततै होचा र साना साना ढुङ्गाहरुको विभिन्न किसिमको आकृतिहरुको बँगैचा देखेपछि सबैका क्यामेरा र मोवाइलहरुमा धमाधम फोटोहरु कैद हुन थाल्छन् ।

स्थानीय चाम्लिङ राईहरुको भाषामा भनिएको बुङालुङ, हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले सोचेको रक गार्डेन, खोटाङ जिल्लाका पूर्व जिविस सभापति एवम् नेपाली काँग्रेसका नेता विष्णुकुमार राईले भनेको ढुङ्गे बगैँचा जस्ले जे भनेपनि प्रकृतिको यो एउटा अनुपम उपहार हो यो भूमि ।

पूर्वतिर त्रिधार्मिक धाम हलेसीभन्दा अलिकति तल ककनी मन्दिर । पश्चिमतिर होलेसुङ राजाको दरबार रहेको स्थान दुर्छिमको एउटा डाँडामा यस्तो कसरी बन्न सम्भव भयो होला ! सबैको मनमा जिज्ञासा उठ्ने नै भयो ।

बुङालुङ अर्थात ढुङ्गे बगैँचाको बारेमा मिथकीय हिसाबले भनिने र सुनिने गरिएका धेरै किंबदन्तीहरु छन् । जसमध्ये हिन्दु धर्मका अनुयायीहरुले हलेसी महादेवस्थानमा भएका महादेवलाई भस्मासुरले लखेटे । भस्मासुरले लखेट्ने क्रममा भाग्दा महादेवको पाइला ककनी माथिको डाँडामा प¥यो । महादेवको पाईला परेपछि त्यहाँ एका एक कलात्मक मसिना ढुङ्गाहरु उम्रिएको हो ।

यस्तै किराँती मिथकमा यस डाडाँलाई बुङालुङ भनिन्छ । ढुङ्गैढुङ्गाको फूल भएको यो ठाउँलाई स्थानीय चाम्लिङ पूर्खाहरुले ‘बुङालुङ’ भनेर नामाकरण गरेका थिए । चाम्लिङ भाषामा ‘बुङा’ भनेको फूल र ‘लुङ’ भनेको ढुङ्गा हो । यहाँको ढुङ्गा आफैमा फूल जस्तो देखिएकाले यसलाई बुङालुङ भनिएको हो ।

किराँती सभ्यतामा तोयामा, खियामा र रैछाकुलेबारे लामो कथा छ । यहि कथाभित्र रहेको मध्ये साफोप्ते (लाटोकोसेरो)ले खियामालाई खाइदिए । तोयामाले आफ्नी बहिनी खियामाको बहुत खोजी गर्छिन् । उनले नजिकै रहेको साफोप्तेलाई धेरै पटक बिन्तीभाउ गार्दै सोधेपछि उनी आजित भएर सुनाउँछन् ।

तुवाचुङबाट पश्चिमतिर देखाउँदै ‘ऊ पर हेर ।’ तोयामाले पश्चिमतिर हेर्दा अहिलेको ढुङ्गे बगैँचामा खियामाको सेतैसेतो हाडखोर देख्छिन् । बहिनीको हाडखोरलाई साह्रै माया गरिन् । उनले केही हाडखोर जम्मा गरेर बहिनीलाई नयाँ जीवन दिइन र बहिनीको सम्झना स्वरुप ती ढुङ्गाहरुलाई सुरक्षित भइरहनु भनेर आशिस दिइन् ।

यी माथिका भनाइहरुमा सत्यता के कति भन्ने कुराहरु मान्नेले मानिदिएसम्म मात्र हुन सक्छन् । यद्यपि, प्राकृतिक हिसाबले यसको अध्ययन अनुसन्धान हुन जरुरी छ । पुरातात्विक हिसाबले यसको महत्वकाबारेमा खोजिनु पर्दछ ।

विश्वको आकर्षणको केन्द्र बन्दै गएको त्रिधार्मिकस्थल हलेसी धामको नजिकै यस्तो प्राकृतिकस्थल पाउनु त्यस क्षेत्रका लागि मात्रै होइन सिङ्गो मुलुकका लागि समेत महत्वपूर्ण रहेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाँडामा करीब १६० रोपनी सरकारी जग्गामध्ये ५६ रोपनी क्षेत्रफलभित्र विशेष गुरुयोजनाका साथ बुङालुङ अर्थात रक गार्डेन बनाउने तयारी गरिएको छ ।

घुम्दैजाँदा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अनुसार प्राकृतिक चट्टानले बनेको ककनीको मन्दिरभन्दा केहीमाथि रहेकाले ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा ल्याउन सहज रहेको छ । ककनीडाँडालाई आकर्षकस्थल बनाउन प्राकृतिकरुपमै सजिसजाउ ढुङगालाई सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ती बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको रहेछ ।

ककनीडाँडामा रहेका कुनै पनि ढुङ्गालाई नबिगारी÷नचलाई सजावटका काम गरिने सुन्दा निकै आनन्दको परिकल्पना गर्न पाइयो । मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र पिकनिक पनि जाने गरेका रहेछन् । बुङालुङ डाडाँमा पुगेका बेला खोटाङगे पत्रकारको क्यामेराले नगर प्रमुख राईलाई ताक्ने भयो नै । साथीहरुले केही केही प्रश्नसहित नगरप्रमुखको धारणा लिए ।

कुराकानी भनौँ अन्तरवार्ताको प्याक अप भएपछि प्रमुखसँग गफिदै घुमियो । कुरै कुरामा बुङालुङमा भएका सबै लुङ (ढुङ्गा)मा देखिएका विभिन्न स्वरुपहरुको बारेमा कुरा राखियो । हुनपनि त्यहाँका प्रत्येक ढुङ्गामा नयाँ किसिमका आकृतिहरु देखिन्छन् । धार्मिक आस्था राख्नेहरुको नजरबाट हेर्ने हो भने प्रत्येक देवी देवताहरुको मुर्तीजस्ता आकृतिहरु छन् । प्रत्येक ढुङ्गाहरुले बोलिरहेको जस्तो देखिन्छ ।

प्रमुख राईले सम्झना सुनाउनु हुन्छ । ‘पहिलो चोटी आउँदा यहाँका ढुङ्गाहरु बोलिरहेको पाएँ । त्यहि भएर संरक्षणको लागि योजना बनाएँ ।’ वास्तवमै त्यहाँका ढुङ्गाका फूलहरु बोलिरहँदा रहेछन् । झट्ट मलाई लाग्यो ।

त्रिधार्मिकस्थल हलेसी धामको दर्शनमा आउने तीर्थयात्रीलाई यहाँसम्म ल्याउने र उनले चाहेको देवताको नाममा एउटा लुङ उनलाई छान्न लगाएर पूजा गराउन पाएमा रमाईलो हुँदो हो । उसले रोजेको देवतालाई उसैले संरक्षण गर्दा पुन्य प्राप्ति हुँदो हो । यसका लागि प्रचार गर्न पाए यस क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास त हुन्छ नै ।

अझै संरक्षण र संवद्र्धनसमेत हुन सक्ने थियो । धार्मिक दर्शन र मान्यता अनुसार ब्रम्हाण्डमा ३३ कोटी देवीदेवताहरु हुन्छन रे ! ती सबै लोकमा रहने देवीदेवताहरुको साझा ब्रम्हाण्डका रुपमा यो बगैँचालाई विकास गर्न सके पक्कै राम्रो हुने थियो । आशा गरौँ अबको प्रचार प्रसार र व्यवस्थापन त्यसतर्फ उन्मुख हुने छ ।

तपाईको प्रतिक्रिया