बाकाचोलको वडा कार्यालयमा तेस्रो पटक तालाबन्दी

Halesi Khabar

खोटाङ, ५ चैत । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरेको भन्दै असन्तुष्ट बनेका स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नु पर्ने र संसद विकास कोषबाट रु दश लाख विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनः गठन गर्नु पर्ने माग राख्दा वडाध्यक्षले बेवास्ता गरेपछि ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताउनुभयो । बाकाचोल वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेको यो तेस्रो पटक हो ।

वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २०७७ जेठ २८ गते र २०७६ पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो । आफ्नो माग सम्बोधन नभए बुधबार लगाइएको वडा कार्यालयको ताला नखोल्ने सम्पूर्ण बाकाचोल बासीको नाममा जारी प्रेस विज्ञप्तिमा चेतावनी दिइएको छ ।

वडाध्यक्षले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले बुधबार ४०५ जनाको हस्ताक्षरसहितको बिरोध–पत्र ऐसेलुखर्क गाउँपालिकालाई समेत बुझाएका छन् । छलफल नै नगरी बिस्खाम खोलाको पानी ऐसेलुखर्कबजार लगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीयको असन्तुष्टी देखिएको हो ।

बिस्खाम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र असरलाई ध्यान नै नदिइ माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको असन्तुष्ट स्थानीय तामाङले बताउनुभयो । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष तामाङले आफू खुसी गरेको भन्दै चार वडा सदस्य एवम् असन्तुष्ट स्थानीयले गत जेठ २८ गते वडा कार्यालयमा ताला लगाएका थिए ।

यस्तै, वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै २०७६ पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा ताला लगाउनुभएको थियो । आगामी दिनमा वडाध्यक्षले योजना सञ्चालनका क्रममा एकलौटी नगर्ने, योजनाका विषयमा वडा सदस्यसँग पनि समन्वय गर्ने लगायतका सहमतीमा २०७६ पुस १४ गते वडाको ताला खुलाइए पनि आफूलाई सहज हुने व्यक्तिलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष तामाङले भने हलासम्म बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि कसैलाई अनुमति नदिइएको बताउनुभएको छ । वडाध्यक्ष तामाङले सम्बन्धित ठाउँकै स्थानीयलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति बनाइएको दाबी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया