कुटपिटबाट घाइते पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ

Halesi Khabar

खोटाङ, ५ चैत । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीय पाँच जनालाई नियन्त्रणमा लिएको छ । चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारमा लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा लिएको हो ।

राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाको बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

मृतक राई मातेको झोँकमा महिलामाथि हातपात गर्न गएको स्थानीय बासिन्दाले बताएका छन् । मृतकको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गरेपछि आज बिहीबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, स्थानीय १४ वर्षीया बालिकासँग एउटै पासोमा झुण्डिनेक्रममा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । एउटै पासो प्रयोग गरेर झुण्डिनेक्रममा बालिकाको डोरी चुँडिएको र पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुट्टाले भुइँ छोएकाले बालिका भने बाँचेकी छन् । बालिकाको गोप्यताका लागि प्रहरीले उनीहरुको नाम र ठेगाना सार्वजनिक गरेको छैन ।

मृतक पुरुष भने विवाहित भएको बताइएको छ । स्रोतका अनुसार उनको दुई श्रीमतीसहित पाँच छोरा रहेका छन् ।

तपाईको प्रतिक्रिया