सात पत्रकार र एक उद्यमीलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार

Halesi Khabar

खोटाङ, ४ चैत । तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा सात जना पत्रकार र एकजना युवा उद्यमीलाई पुरस्कृत गरेको छ । त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि बनाएर प्रकाशन भइरहेको उक्त साप्ताहिक पत्रिकाले पत्रकार सुर्य तामाङ, रामधन राई, चिसाङ शेर्पा, दीपक राई, नवीन चाम्लिङ राई, असल चरित्र, शिवकुमार राई र युवा उद्यमी इन्द्र चाम्लिङलाई बुधबार जनही रु १५ हजार राशीको पुरस्कार प्रदान गरेको हो ।

पत्रकार शेर्पा र शिवकुमारलाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, रामधनलाई स्वर्गीय इन्द्रसेर राई÷गउनसरी राई तुवाचुङ पत्रकारिता पुरस्कार, सुर्यलाई स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, नवीनलाई तुवाचुङ मारतिका यातायात प्रा.लि. तुवाचुङ साप्ताहिक साहसिक पत्रकारिता पुरस्कार तथा दीपक र असललाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता र उद्यमी इन्द्रलाई स्वर्गीय कृष्णध्वज राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट पुरस्कृत गरिएको पत्रिकाका प्रकाशक÷सम्पादक दीपेन्द्र राईले जानकारी दिनुभएको छ ।

पुरस्कृत पत्रकार तथा उद्यमीलाई वार्षिक हलेसीस्थित होटल हलेसी भिलेजमा आयोजना गरिएको उत्सव कार्यक्रमका प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपाकिाका नगरप्रमुख इवन राईले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको छ । साप्ताहिक पत्रिकाले प्रत्येक वर्षको साउन ४ गते वार्षिक उत्सव मनाउदै आए पनि यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरसका कारण चैतमा मनाउनु परेको आयोजकले जनाएको छ ।

वार्षिक उत्सवको अवसरमा पुरस्कार स्थापनार्थ गरिदिनुहुने राजनीतिकर्मी समीर राई, डिल्ली चाम्लिङ, समाजसेवी पदमकुमार राई, विद्यार्थी रुनिशा राई र तुवाचुङ मारतिका यातायात प्रा.लि.लाई सम्मान गरिएको छ । गत वर्ष पहिलो वार्षिक उत्सवमा पत्रकार दमन राई, केदार मगर, उत्तम चौलागार्इँ, समाजसेवी जनकराज राई, साहित्यकार विक्रम चेतनशील राई र कराँते खेलाडी शेशुका राईलाई पुरस्कृत गरेको थियो ।

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई आधारभूमि बनाएको तुवाचुङ साप्ताहिक खबर उक्त साप्ताहिक पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ । वार्षिक उत्सव उद्घाटन कार्यक्रमका वक्ताहरुले पत्रिकाले जिल्लामा छोटो समयमा नै ठूलो सफलता हाँसिक गरेको स्मरण गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया