खोटाङ, २५ माघ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले जिल्लामा क्रियाशील पत्रकारद्वय सन्तोष पौडेल र सुनिता राई ‘कृष्णकला’लाई पुरस्कृत गरेको छ । पत्रकार महासङ्घको नवौँ साधारणसभा उद्घाटन कार्यक्रममा पौडेल र राईलाई नगद रु दुई हजार ५०० सहित क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

जिल्लामा पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रवेश गरी सक्रियताका साथ कलम चलाउँदै आउनुभएका पत्रकार पौडेल न्युज ट्वाण्टी फोेर टेलिभिजन र राई खोटाङ खबर साप्ताहिकमा आवद्ध हुनुहुन्छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आइतबार आयोजित साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइली, प्रदेश अध्यक्ष विक्रम लुइटेल, महासचिव विवेक गौतम लगायतले पत्रकारद्धयलाई प्रशंसा–पत्रको साथमा दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको हो ।

यसैबीच, जिल्लाका छ जना अग्रज एवम् जेष्ठ पत्रकारलाई सम्मान गरिएको छ । खोटाङमा नेपाल पत्रकार महासङ्घ स्थापना गर्नदेखि हालसम्म जिल्लामै रहेर सक्रियताका साथ पत्रकारिता पेशामा क्रियाशील रहनुभएका पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बरसिं राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको हो ।


साधारणसभाले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस–५ गते विघटन गर्नुभएको प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै उक्त कदम तत्काल सच्याउन माग गर्ने निर्णय गरिएको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दमन राईले बताउनुभयो ।








