खोटाङ, १९ माघ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने किराँत ऐतिहासिकस्थल डुम्रेकोटगढी र कोटगढीको संरक्षण शुरु गरिएको छ । करीब ३०० वर्षअघि बाइस–चौबीसे राज्यको पालामा किराँत वङ्शीय शासकहरुले राज्य सञ्चालन गरेको उक्त थलोलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त गढीहरुको संरक्षण एवम् स्तरोन्नतिको काम शुरु गरिएको हो ।
किराँत वङ्शीय शासन व्यवस्था सञ्चालन भएका ठाउँहरुलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाभित्र पर्ने सबै गढीहरुको संरक्षण एवम् स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “किराँती राजाहरुले शासन सत्ता सञ्चालन गरेको ऐतिहासिकस्थलहरुको संरक्षणले भावी पुस्तालाई पनि इतिहासको बारेमा जानकारी गराउन सकिन्छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको रुपमा रहेको डुम्रेकोटगढी र कोटगढीको संरक्षण र प्रवद्र्धनले आगामी दिनमा गाउँपकालिकाको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।”
छिमेकी जिल्ला सोलुखुम्बूसँग सिमानामा जोडिएको उक्त ठाउँमा रहेको गढीको मुख्य भागमा रहेको बङ्कर, इनार लगायतको अवशेष अझै पनि देख्न सकिन्छ । वरिपरि सल्लाको जङ्गलले घेरिएको उक्त ठाउँलाई दृष्यावलोकन गर्ने ठाउँको रुपमा समेत विकास गर्न सकिने वडाअध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो ।
वडाध्यक्ष पाण्डेका अनुसार उक्त गढी संरक्षणका लागि गाउँपालिकाकोतर्फबाट करीब रु नौँ लाख बजेट खर्च गरिसकिएको छ । “हामी निर्वाचित हुनासाथ यो ऐतिहासिक गढीको संरक्षण शुरु गरिएको हो”, उहाँले भन्नुभयो, “पर्यटनको केन्द्रविन्दुको रुपमा विकास नगरुन्जेलसम्म लगानी गर्ने लक्ष्य राखिएको छ ।”

राणाकालीन शासनकालमा पूर्व ३ नं. क्षेत्र अन्तरगत डुम्रेकोटगढीमा किराँती राजाहरुले राज्य गरेको स्थानीय वृद्धवृद्धाहरुले बताएका छन् । पञ्चायत कालमा उक्त कोटगढी भएको क्षेत्र सोलुखुम्बु जिल्लामा पर्दथ्यो ।
भग्नावशेष मात्र रहेको उक्त कोटगढीमा प्रवेशद्धार, पदमार्ग, घेराबार लगायतका भौतिक संरचनाहरु निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकन गर्नका लागि आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । किराँती राजाहरुले प्रयोग गर्दै आएका हातहतियारहरु समेत रहेको उक्त ठाउँबाट तत्कालीन भूमि सुधार अधिकृत गोपाल कोइरालाको टोलीले त्यहाँ भएका तोप लगायतका अन्य सामग्री लिएर गएको स्थानीय बासिन्दा भीम पाण्डेले बताउनुभयो ।
डुम्रेधारापानीमा पिउने पानीको अभाव भएकाले उक्त कोटगढीमा नदीको पानी ल्याएर भण्डारण गर्न इनार निर्माण गरिएको देखिन्छ । त्यहाँ अवलोकन गर्दा त्यसको अवशेष अझै पनि यथावत छ । उक्त ठाउँमा उस्ता–उस्तै उचाइका दुई वटा अग्ला डाडाँहरु छन् । यसमध्ये एउटा कोटगढी र अर्को सुलिडाडाँ हो ।
वरिपरी गाउँबस्तीले घेरिएको कोटगढीमा अहिले ठूलाठूला सल्लाका रुखहरु छन् । उत्तिकै उचाइँमा रहेको सुलिडाडाँ चाहिँ नाङ्गो छ । कोटगढीको टुप्पोमा करीब १० मिटरको गोलाकार बङ्कर जस्तो इनार छ ।

तत्कालीन समयमा कोटगढीमा निर्माण गरिएका इनारमा सेनाहरुले दूधकोशीको पानी बोकेर भण्डारण गर्ने गरेको स्थानीय जानकारहरुले बताएका छन् । स्थानीय बासिन्दा एवम् उक्त गाउँपालिकाका कार्यपालिका सदस्य पुण्यकुमारी मगरका अनुसार पछिसम्म त्यो इनार अचम्मको रमित लाग्दो रहेको थियो ।
डुम्रेकोटगढी तथा कोटगढीबीच एक आपसमा सम्बन्ध रहेको देखिन्छ । यीमध्ये डुम्रेकोटगढीमा बस्ने राजा तथा सैनिकका लागि आवश्यक पर्ने पानी भण्डारण गर्न कोटगढीमा इनार निर्माण गरिएको जनाइएको छ ।
तत्कालीन समयमा उक्त कोटगढीमा दशैँको फूलपातिको दिन हातहतियार सरसफाइ गर्ने गरिएको बताइएको छ । स्थानीय जानकारहरुका अनुसार फूलपातीमा सरसफाइ गरिएको हातहतियारलाई नवमीमा गोरुको बली दिने गरिएको थियो ।
डुम्रेकोटगढीमा किराँत राईहरुको पौराणिक कथाहरु समेटिएका किम्बदन्तीहरु रहेको ऐसेलुखर्क गाउँपालिकाका स्थानीय बासिन्दा एवम् उक्त गढीको अध्ययनकर्ता लवकुमार राईको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि ऐतिहासिक तथा पर्यटकीयस्थलहरुको संरक्षण तथा स्तरोन्नतिको काम गरिरहेका छन् ।


